जाजरकोट प्रहरीले सार्वजनिक गर्‍यो वार्षिक प्रगति प्रतिवेदन, १४०२ रोपनी अफिम नष्ट, १३५ मुद्दा दर्ता, ७० फछ्र्यौट


जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । मंगलबार कार्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत वार्षिक गतिविधि सार्वजनिक गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त कुमार शर्माले अपराध नियन्त्रण, सामाजिक सचेतना र सामुदायिक सहभागितालाई प्राथमिकतामा राख्दै प्रहरीले सक्रिय भूमिका खेलेको बताए । सुरक्षाको प्रत्याभूति दिने उद्देश्यसहित जिल्लाभर विभिन्न प्रहरी गतिविधि सञ्चालन गरिएको उनले जानकारी दिए ।
कार्यक्रमको प्रगति प्रतिवेदन जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष चन्दले प्रस्तुत गरेका थिए । उनका अनुसार समीक्षा अवधिमा विभिन्न प्रकृतिका १३५ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ७० वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने ६५ वटा मुद्दा हालसम्म बाँकी रहेका छन् । कर्तव्य ज्यान, सवारी दुर्घटना, लागुऔषध कारोबार, यौनदुराचार लगायतका मुद्दा प्रमुख रहेका छन् ।


लागुऔषध नियन्त्रणमा कडाइ
लागुऔषधसम्बन्धी तीन वटा मुद्दामा ६ जना अभियुक्त पक्राउ परेका छन् भने ८ जना अझै फरार छन् । सो अवधिमा प्रहरीले ९ किलो १५० ग्राम अफिम बरामद गर्नुका साथै १४०२ रोपनी क्षेत्रमा गरिएको अफिम खेती नष्ट गरेको जनाएको छ ।
महिला, बालबालिका र जेष्ठ नागरिक सुरक्षामा ध्यान
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा ८० वटा उजुरी दर्ता भई सबैको फछ्र्यौट गरिएको छ । हराएका ७९ जनालाई खोजी गरी सुरक्षित रुपमा परिवारमा पुनः मिलाइएको पनि प्रतिवेदनमा उल्लेख छ । घरेलु हिंसा, बहुविवाह, बालयौन दुरुपयोग जस्ता संवेदनशील घटनाहरूमा प्रहरीले प्रभावकारी भूमिका खेलेको जनाइएको छ ।


दैवी प्रकोप र सवारी दुर्घटनाका घटनाहरू
गत वर्ष जाजरकोटमा ५९ वटा दैवी प्रकोपका घटनामा ९ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् । १८ चौपाया पशुको पनि मृत्यु भएको छ । यस्तै, ६५ वटा सवारी दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने १६७ जना घाइते भएका छन् ।
ट्राफिक कारबाहीमा कडाइ
सवारी सन्धानमा अनियमितता गर्ने विरुद्ध २७२१ वटा सवारी साधनमा कारबाही गर्दै २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ ।
सामुदायिक प्रहरी साझेदारी अभियान
प्रहरीले यस वर्ष ५२१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । आत्महत्या रोकथाम, लागुऔषध विरुद्धको सन्देश, महिला तथा बालबालिकामाथि हुने हिंसा, साइबर अपराध, ट्राफिक नियम र दैवी प्रकोपसम्बन्धी जनचेतनामूलक गतिविधिमा १९ हजार २६५ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी कार्यालयले आगामी दिनमा अझ प्रभावकारी सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र सामुदायिक सहभागितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया