
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
बुधबार दिउँसो करिब साढे ३ बजेतिर भेरी नगरपालिका–११ मटेलास्थित भेरी नदीमा पौडी खेल्ने क्रममा सोही स्थानका अजय गिरीका १३ वर्षीय छोरा अनिष गिरी डुबेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक बमबहादुर थापाको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारी पठाइएको थियो।
तर उपचारका क्रममा अस्पतालका चिकित्सकले दिउँसो ३ः५५ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीले जानकारी दिनुभयो।
डीएसपी पुरीका अनुसार मृतकको शव हाल मिसन अस्पताल चौरजहारीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८३ जेष्ठ २० गते बुधवार