जाजरकोट जुनीचाँदेमा पहिरो-बाढीमा दुई बेपत्ता, सुरक्षा निकाय परिचालन

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा अविरल वर्षापछि आएको बाढीपहिरोमा परी दुईजना बेपत्ता भएका छन्। जुनीचाँदे गाउँपालिका–६ डोग्रामा डोग्राखोला थुनिएर एक्कासि फुट्दा ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका छन् भने सोही वडाको छिर्का टोलकी करिब ३९ वर्षीया रचना थापालाई सेती खोलाले बगाएपछि उनी सम्पर्कविहीन छिन्।

प्रहरीका अनुसार थापालाइ बुधबार साँझ गोठबाट घरतर्फ फर्कने क्रममा सेती खोलाले बगाएको हो। घटनाबारे बिहीबार बिहान जानकारी पाएपछि प्रहरी टोली खोजीका लागि परिचालन गरिएको थियो। घटनास्थल प्रहरी चौकी गर्खाकोटबाट करिब तीन घण्टाको पैदल दूरीमा रहेको जनाइएको छ।

त्यस्तै, शुक्रबार बिहान परेको अविरल वर्षाका कारण डोग्राखोला थुनिएर जम्मा भएको पानी एक्कासि फुट्दा पानीघट्ट सञ्चालन गर्न गएका सिंह बेपत्ता भएका हुन्। बाढीले सोही क्षेत्रमा रहेका ८ देखि १० वटा पानीघट्टसमेत बगाएको प्रहरीले जनाएको छ।

दुवै बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए। बाढीका कारण खोलामा पानीको बहाव तीव्र रहेकाले खोजी तथा उद्धारमा चुनौती देखिएको प्रहरीले जनाएको छ।

प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक स्रोतसाधन परिचालन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्। लगातारको वर्षाका कारण जुनीचाँदेका विभिन्न क्षेत्रमा बाढीपहिरोको जोखिम बढेपछि स्थानीयले थप प्रभावकारी खोजी तथा उद्धारका लागि आवश्यक उपकरणसहितको टोली परिचालन गर्न माग गरेका छन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया