
जाजरकोट । जिल्लाको विपद् व्यवस्थापनमा उल्लेखनीय योगदान गरेको भन्दै विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरेको छ। बुधबार जिल्ला विपद् व्यवस्थापन समितिले पत्रकार रेशमबहादुर खड्कासहित सुरक्षा निकाय, नेपाली सेना र विद्युत् प्राधिकरणमा कार्यरत व्यक्तिलाई सम्मान गरेको हो।
प्रमुख जिल्ला अधिकारी नवराज बरालका अनुसार विपद्का समयमा आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्नेहरूलाई सम्मान गरिएको छ । उनीहरूले उद्धार, सुरक्षा, विद्युत् सेवा र सूचना सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

बाढीपहिरोपछि विद्युत् सेवा पुनः सञ्चालनमा नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले उल्लेखनीय काम गरेको थियो। रिझाङमा बाढीपछि तीन दिनमै स्थायी सेल्टरमा विद्युत् सेवा पुर्याइएको थियो। भेरी–२ का सबै बस्तीमा १० दिनभित्र विद्युत् सेवा सञ्चालन गरिएको थियो।

सशस्त्र प्रहरी बल नेपालका सहायक हवल्दार कृष्णबहादुर बुढालाई पनि सम्मान गरिएको छ। उनले विपद्का समयमा सुरक्षा तथा उद्धारमा भूमिका निर्वाह गरेका थिए। नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार अनिल बुढा पनि सम्मानित भएका छन्। उनी इलाका प्रहरी कार्यालय रग्दामा कार्यरत छन्। तासुगाड खोलामा बगेकी एक महिलालाई तत्काल उद्धार गरेको घटनामा उनको महत्वपूर्ण भूमिका रहेको थियो।

तासुगाड खोलामा बाढीले अस्थायी होमपाइप बगाएपछि पैदल आवतजावतका लागि काठ राखिएको थियो। सोही क्रममा खोला तर्दै गर्दा रुकुम पश्चिमकी २८ वर्षीया दिपा बुढालाई खोलाले बगाएको थियो। प्रहरीले तत्काल देखेपछि उनलाई सकुशल उद्धार गरेको थियो।

नेपाली सेनाका हुद्दा शेरधन मगर र सिपाही भीमराज खत्री पनि सम्मानित भएका छन्। दुवै भवानी दल गण, मालिका ब्यारेक जाजरकोटमा कार्यरत छन्। विपद्का समयमा उद्धार तथा व्यवस्थापनमा उनीहरूले योगदान गरेका थिए।

यस्तै, विपद्का घटनाको तथ्यपरक सूचना तथा समाचार सम्प्रेषण गरेको भन्दै नयाँ पत्रिकाका जाजरकोट समाचारदाता तथा नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव रेशमबहादुर खड्कालाई सम्मान गरिएको छ।

प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा र प्रमुख जिल्ला अधिकारी बरालले सम्मानपत्र र खादासहित उनीहरूलाई सम्मान गरे।
प्रमुख जिल्ला अधिकारी बरालले विपद् व्यवस्थापन सामूहिक प्रयासबाट सम्भव हुने बताए। “विपद्का बेला सबै निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरेका छन्। योगदानको कदर गर्दै सम्मान गरिएको हो,” उनले भने।






विनोद कुमार घर्ती (रिदम) । २०८३ असोज १४ गते बुधवार