
जाजरकोट । शिवालय गाउँपालिका-३ राख्म निवासी इन्द्रबहादुर थापा क्षेत्री पछिल्लो समय स्थानीय राजनीति, समाजसेवा र विकासका सवालमा सक्रिय व्यक्तिका रूपमा परिचित हुँदै आएका छन्। शिक्षा, पेशा, राजनीति र समाजसेवालाई एकअर्काका पूरक क्षेत्रका रूपमा अघि बढाउँदै आएका थापा क्षेत्रीले जनताका समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने कार्यलाई आफ्नो सार्वजनिक जीवनको महत्वपूर्ण हिस्सा बनाउँदै आएका छन्।
पाठ्यक्रम तथा मूल्याङ्कन विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका थापा क्षेत्रीले लामो समय पेशासँगै राजनीतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिएका छन्। स्थायी सेवाबाट प्राप्त हुने मासिक करिब ८० हजार १६० रुपैयाँ बराबरको तलब तथा सुविधासहितको जागिरबाट २०८० साल चैत १३ गते राजीनामा दिएर सामाजिक सेवामा सक्रिय हुने बाटो रोजेको उनी बताउँछन्।
व्यक्तिगत आर्थिक सुविधाभन्दा सामाजिक सेवाको क्षेत्रलाई प्राथमिकता दिने निर्णय आफ्नो सार्वजनिक जीवनको महत्वपूर्ण मोड भएको उनको भनाइ छ।
विद्यार्थी जीवनदेखि राजनीतिक यात्रा
थापा क्षेत्रीको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको बताइन्छ। २०३८ सालदेखि वामपन्थी विचारधारासँग जोडिएर विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी त्यसपछि नेकपा (एमाले) को संगठनात्मक गतिविधिमा निरन्तर संलग्न हुँदै आएका छन्।
लामो समय पार्टीको विचार, संगठन र जनसम्बन्धसँग जोडिएर काम गरेका थापा क्षेत्री हाल नेकपा (एमाले) जाजरकोट जिल्ला कमिटीका सचिवालय सदस्य छन्। पार्टीभित्र विभिन्न कालखण्डमा देखिएका वैचारिक तथा संगठनात्मक बहसमा संस्थापन पक्षमा उभिँदै आफ्नो धारणा सार्वजनिक रूपमा राख्दै आएको बताइन्छ।
पेशागत जीवनमा रहँदासमेत पार्टीका संगठनात्मक गतिविधि, कार्यकर्ता तथा जनतासँगको सम्बन्धलाई निरन्तरता दिएको उनको राजनीतिक यात्रामा देखिन्छ।
जनतासँग प्रत्यक्ष सम्बन्ध
थापा क्षेत्रीको राजनीतिक सक्रियता पार्टी संगठनमा मात्र सीमित नरहेको देखिन्छ। गाउँका सामान्य नागरिकदेखि विद्यार्थी, युवा, किसान, ज्येष्ठ नागरिक तथा समस्यामा परेका परिवारसँग प्रत्यक्ष भेटघाट र संवादलाई उनले आफ्नो राजनीतिक गतिविधिको महत्वपूर्ण हिस्सा बनाउँदै आएका छन्।
राजनीति निर्वाचन र पद प्राप्तिको माध्यम मात्र नभई जनताको समस्या बुझ्ने तथा समाधानका लागि पहल गर्ने माध्यम हुनुपर्ने उनको धारणा छ। यही सोचका आधारमा शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगारी तथा पूर्वाधार विकासलाई उनले स्थानीय प्राथमिकताका विषयका रूपमा उठाउँदै आएका छन्।
समाजसेवामा निरन्तर सक्रियता
राजनीतिक यात्रासँगै थापा क्षेत्री सामाजिक सेवामा पनि सक्रिय छन्। बिरामी, घाइते तथा आर्थिक रूपमा कमजोर परिवारलाई आवश्यक सहयोग गर्ने, समस्यामा परेका नागरिकको घरमै पुगेर अवस्था बुझ्ने तथा समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यमा आफूलाई सक्रिय राख्दै आएको उनी बताउँछन्।
सामाजिक सेवाका क्रममा स्वास्थ्य, शिक्षा र कृषि उनका प्रमुख सरोकारका क्षेत्र हुन्। ग्रामीण नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने तथा विद्यार्थीलाई आधुनिक र प्राविधिक शिक्षासँग जोड्नुपर्ने उनको जोड छ।
त्यसैगरी कृषिलाई आधुनिकीकरण गरी उत्पादन, रोजगारी र आत्मनिर्भरतासँग जोड्नुपर्ने उनको धारणा छ।
युवाको रोजगारी र स्वरोजगारमा जोड
ग्रामीण क्षेत्रका युवाको भविष्यसँग जोडिएको रोजगारीको विषयलाई पनि थापा क्षेत्रीले प्राथमिकतामा राख्दै आएका छन्। स्थानीय स्तरमै कृषि, पशुपालन, साना उद्योग, पर्यटन तथा उद्यमशीलताको विकास गरी युवालाई रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने उनको धारणा छ।
स्थानीय स्रोत र साधनको उचित प्रयोग, सीपमूलक तालिम तथा स्थानीय उत्पादनको बजार विस्तारमार्फत गाउँमै रोजगारी सिर्जना गर्न सकिने उनको विश्वास छ।
कृषि विकासलाई प्राथमिकता
शिवालयजस्तो ग्रामीण क्षेत्रको आर्थिक विकासको आधार कृषि भएको थापा क्षेत्रीको दृष्टिकोण छ। कृषि क्षेत्रमा आधुनिक प्रविधि, गुणस्तरीय बीउ, सिँचाइ, कृषि यान्त्रीकरण, उत्पादनको बजार व्यवस्थापन तथा किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने उनले बताउँदै आएका छन्।
आलु, धान, मकै, गहुँलगायतका उत्पादनसँगै फलफूल, तरकारी, जडीबुटी तथा पशुपालनलाई व्यावसायिक बनाउन सके स्थानीय अर्थतन्त्र बलियो बनाउन सकिने उनको धारणा छ।
त्यसैगरी साना तथा घरेलु उद्योगको विस्तार, सीपमूलक तालिम र स्थानीय उत्पादनको बजार विस्तारमार्फत स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सकिने उनी बताउँछन्।
शिक्षा र स्वास्थ्य विकासका आधार
शिक्षित समाज नै दीर्घकालीन विकासको आधार भएको मान्यता राख्ने थापा क्षेत्रीले ग्रामीण शिक्षा सुधारलाई विशेष महत्व दिँदै आएका छन्। विद्यालयमा गुणस्तरीय शिक्षा, सूचना प्रविधिको पहुँच, प्राविधिक तथा व्यावसायिक शिक्षा र विपन्न विद्यार्थीका लागि अवसर विस्तार गर्नुपर्नेमा उनको जोड छ।
त्यसैगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्था स्थापना गर्नु मात्र पर्याप्त नभई आवश्यक जनशक्ति, औषधि, उपकरण र नियमित सेवा सुनिश्चित गर्नुपर्ने उनको धारणा छ।
सामान्य उपचारका लागि समेत नागरिकले टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्वास्थ्य संरचनालाई थप प्रभावकारी बनाउनुपर्ने विषयलाई उनले सामाजिक सरोकारका रूपमा उठाउँदै आएका छन्।
‘समृद्ध शिवालय, सुखी शिवालयवासी’को सोच
थापा क्षेत्रीको सार्वजनिक गतिविधिमा शिवालयको समग्र विकासको अवधारणा पनि जोडिँदै आएको छ। सडक तथा यातायात, विद्युत्, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी, सञ्चार तथा स्थानीय उत्पादनको विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको सोच छ।
उनका अनुसार विकासलाई केवल भौतिक संरचना निर्माणसँग मात्र जोडिनु हुँदैन। नागरिकको जीवनस्तर, आयआर्जन, शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार ल्याउन सक्ने विकासलाई प्राथमिकता दिनुपर्छ।






द मालिका पोष्ट । २०८३ असोज २० गते मङ्गलवार