लागुऔषध नियन्त्रणमा जुट्दै भेरी नगरपालिका


जाजरकोट । जाजरकोटको भेरी नगरपालिका लागु औषध नियन्त्रणमा जुट्दै गएको छ । नगरपालिकाले लागु औषध दुर्व्यसन नियन्त्रण एवं रोकथामका लागि युवा जागरण तथा परिचालन कार्ययोजना निर्माण गरेर नगरपालिका भित्र यसको नियन्त्रणको लागि अभियान संचालन गर्ने भएको छ ।
नगरपालिकाले प्राकृतिक रूपमा उम्रने गाँजा, चरेस, भाङ, धतुरो, अफिम नियमन तथा युवाहरुलाई सशक्तिकरण गर्नको लागि उक्त अभियान सञ्चालन गरिएको भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले जानकारी दिनु भयो । साथीसँगीको दबाब, मनोरञ्जनका लागि उत्सुकता, खुसी हुन, मानसिक तनाव, पारिवारिक समस्या, डिप्रेसन, पढाईमा समस्यालगायतका कारणले लागु औषध प्रयोग बढ्दै गएको उहाँको भनाई छ ।


लागु पदार्थ दुव्र्यसनको प्रयोगले यहाँका नागरिकहरुमा मानसिक सन्तुलन हुनमा असरका रूपमा पनि देखिन थालेपछि स्थानीय सरकारले यसको नियमनको लागि अभियान सञ्चालन गरेको छ । यसको प्रयोगबाट मानिस एकोहोरोपन, फ्रस्टेसन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना, हातका अाैला काप्नु, मुटु तथा दिमागमा असर गर्नु, आत्महत्या गर्न प्रेरित हुने जस्ता लक्षण देखा पर्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । व्यक्तिले लागु पदार्थ प्रयोग गरेपछि त्यसको असर भने परिवारदेखि समाजसम्म पर्ने प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए । परिवारमा एक सदस्यले लागु पदार्थ प्रयोग गर्दा पारिवारिक असमझदारी बढ्ने, घरको सामान चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दूरी बढ्ने, अनैतिक कार्यमा संलग्न हुने जस्ता समस्या देखिएने नेपालीले बताए ।

लागु पदार्थ नियन्त्रणका लागि सरकारी तवरबाट पर्याप्त ऐन कानुन निर्माण भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। लागु पदार्थ प्रयोगकर्ताको उपचार तथा पुनर्स्थापना केन्द्र सञ्बालनसम्बन्धी कार्यविधि, २०७५ लागु भएको छ ।


जिल्लाको भेरी नगरपालिकाले नागरिक समाज, सुरक्षा निकाय, सामाजिक सङ्घसंस्थाले यसको नियन्त्रणमा सहकार्य र समन्वय गरि नियन्त्रणका लागि अग्रसर भएको छ ।
नगरपालिकाकाले संचालन गरेको लागु औषध दुर्व्यसन नियन्त्रण एवं रोकथामका लागि युवा जागरण तथा परिचालन कार्ययोजनाको सकुलर अनुसार जिल्लाका सम्पुर्ण मावि तहका स्कुल तहदेखि नै यसको असरबारे जनचेतनामुलक सन्देशका लागि सडक नाटकको कार्यक्रम सञ्चालन गर्न लागेको नगरपालिका शिक्षा शाखा प्रमुख तथा उक्त कार्यक्रमका कार्यक्रम संयोजक अमृत पुनले बताउनुभयो । कार्यक्रमले दीर्घकालीन रूपमा लागु पदार्थका दुव्र्यसनी पनि कम हुने पुनको भनाई छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया