बारेकोटको मैनागाउँमा एक घर, एक धारा: दुर्गम गाउँमा विकासको नयाँ चमक

जाजरकोट । जाजरकोटको दुर्गम क्षेत्र भनेर चिनिने बारेकोट गाउँपालिकामा “एक घर, एक धारा” अभियानले विकासको नयाँ झल्को दिइरहेको छ। गाउँपालिकाले विभिन्न विकास साझेदारहरूसँग सहकार्य गर्दै घरघरमै पिउने पानी पुर्‍याउने अभियान तिव्र गतिमा अघि बढाएको छ।

बारेकोट गाउँपालिका–४ स्थित मैनागाउँमा हालै सम्पन्न खानेपानी आयोजनाले ११० घरधुरीमा सुरक्षित पिउने पानीको धारा जडान गरिसकेको गाउँपालिका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिनुभयो। हेल्भेटास नेपालसँगको साझेदारीमा करिब ६८ लाख रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न गरिएको हो।

अध्यक्ष गिरीका अनुसार, यस अभियानअन्तर्गत वडाहरू १, २, ५ र ७ मा अघिल्लो आर्थिक वर्षमै ४६५ घरमा पिउने पानी पुर्‍याइएको थियो। अब पालिकाका अन्य वडाहरूमा पनि चरणबद्ध रूपमा यस्तो सेवा विस्तार गरिँदैछ।

स्थानीयबासीहरूको अनुहारमा विकासको खुसी स्पष्ट देखिन्छ। मैनागाउँकी लालमाया बस्नेत भन्छिन्, “पहिले डोकोमा गाग्री राखेर खोला जानुपर्थ्यो। बच्चाबच्ची पानी ल्याउन जाँदा बाटोमा लड्ने डर हुन्थ्यो। अब घरको आँगनमै पानीको धारा पुगेपछि जीवन सहज भएको छ।”

बारेकोट भूकम्पको केन्द्रविन्दुसमेत भएकाले यहाँको विकास चुनौतीपूर्ण रहेको भए पनि गाउँपालिकाले कठिनाइका बीच सम्भावनाहरू खोज्दै अगाडि बढेको छ। अध्यक्ष गिरीले भन्नुभयो, “हाम्रो पीडा र दुःखलाई शक्तिमा बदल्नका लागि विकास साझेदारहरूको सहयोगलाई हामी स्वागत गर्दछौं।”

मैनागाउँ जाजरकोट–जुम्ला जोड्ने सडकको बीचमा पर्ने भएकाले भौतिक पूर्वाधारको पहुँच विस्तारमा सहजता भएको वडाध्यक्ष विष्णु रावतले जानकारी दिनुभयो। आर्थिक अभावका कारण विगतमा गाउँ छेउमै पानी बग्दा पनि घरघरमा धारा जडान गर्न नसकिएको अवस्थालाई अहिले गाउँपालिकाले परिवर्तनमा रूपान्तरण गरेको हो।

गाउँपालिकाको लक्ष्य पालिकाभरका सबै घरमा सुरक्षित पिउने पानीको पहुँच पु-याउने रहेको छ। “एक घर, एक धारा” अभियान यसैगरी अघि बढ्दै गएमा दुर्गम भेगका जनताका लागि जीवनशैलीमै परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया