अनिश कार्कीले स्थापना गरेको क्रिकेट एकेडेमी – जाजरकोटबाट राष्ट्रिय क्रिकेटको सपना बुन्दै

आजको युगमा, जहाँ सहरकेन्द्रित खेल पूर्वाधार विस्तार हुँदैछ, त्यही समयमा जाजरकोटजस्तो दुर्गम जिल्लाबाट यस्तो उदाहरणीय काम हुनु वास्तवमै प्रेरणादायी छ।

जाजरकोट जिल्ला, जहाँ सुविधाभन्दा सम्भावना बढी छ। जहाँ चुनौतीहरू छन्, तर त्यसभित्र लुकेको छ अपार प्रतिभा। त्यही प्रतिभालाई निखार्ने र राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले शान्ति ज्ञानकुञ्ज क्रिकेट एकेडेमी २०८१ सालको माघ महिनादेखि संचालनमा आएको हो। यसको स्थापना जाजरकोट क्रिकेट क्लबका अध्यक्ष अनिश कुमार कार्कीको पहलमा भएको हो, जसमा प्रशिक्षकका रूपमा अध्यक्ष कार्की, प्रणिल चन्द, सविन भडेल, सबिन के.सी., विशाल शाही, निरज शाह, देशान्तर बस्नेत र सन्तोष शाहीले गरेका छन्।

हाल यो एकेडेमीमा १५ वर्ष मुनिका ४० जना विद्यार्थीहरू निःशुल्क प्रशिक्षणमा सहभागी छन्। यी बालकहरू कुनै पनि शुल्क नतिरी, आवश्यक सबै किटसहित प्रशिक्षण प्राप्त गरिरहेका छन्। यो मात्र एक खेल तालिम केन्द्र होइन, एक सपना साकार पार्ने थलो हो।

शान्ति ज्ञानकुञ्जको मूल लक्ष्य – अण्डर १९ क्रिकेट प्रतियोगिताका लागि विद्यार्थीहरूलाई पूर्वतयारी गराउनु हो। प्रशिक्षकहरूको भनाइमा, यो एकेडेमीले भविष्यमा जाजरकोटबाट राष्ट्रिय टिमसम्म पुग्ने खेलाडी उत्पादन गर्नेछ। उदाहरणका लागि, जाजरकोटबाट प्रतिनिधित्व गर्दै आएका प्रतिभाशाली क्रिकेटर युनिष वित्रम सिंहलाई हेर्न सकिन्छ, जसजस्तो स्तरका खेलाडी उत्पादन गर्नु पनि एकेडेमीको लक्ष्य हो।

यस संस्थाको सबैभन्दा उल्लेखनीय पक्ष भनेको, जात, वर्ग, आर्थिक हैसियत केही नहेरी सबै बालबालिकालाई समान अवसर प्रदान गर्नु हो। शारीरिक तन्दुरुस्ती, खेल मनोविज्ञान, नेतृत्व विकासजस्ता विविध पक्षलाई समेटेर तयार पारिएको तालिमले केवल खेलाडी होइन, जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्य राखेको छ।

आजको युगमा, जहाँ सहरकेन्द्रित खेल पूर्वाधार विस्तार हुँदैछ, त्यही समयमा जाजरकोटजस्तो दुर्गम जिल्लाबाट यस्तो उदाहरणीय काम हुनु वास्तवमै प्रेरणादायी छ। यसबाट प्रमाणित हुन्छ – प्रतिभा कुनै भूगोलले होइन, अवसर र वातावरणले निर्माण हुन्छ।

हामी सम्पूर्ण समुदाय, स्थानीय सरकार र खेलप्रेमीहरूलाई आग्रह गर्न चाहन्छौं – यस्ता संस्थाहरूलाई सहयोग, संरक्षण र साथ दिऔं। किनभने, जब अनिश कार्कीको सपना राष्ट्रिय टिमको मैदानमा रूपान्तरित हुन्छ, त्यो केवल व्यक्तिगत सफलता होइन, सिङ्गो जिल्लाको गौरव हुनेछ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया