बिरामीलाई फलफूल वितरण गरेर जाजरकोटमा विश्व हुलाक दिवस मनाइयो


जाजरकोट । “नागरिकका लागि हुलाक ,स्थानीय सेवाको विश्वव्यापी पहुच” भन्ने नाराका साथ आज जाजरकोटमा १५१ औ विश्व हुलाक दिवस विशेष रूपमा मनाइएको छ । दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय जाजरकोटले जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्दै शुभकामना आदान–प्रदान गरिएको हो ।

सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक संघ स्थापना भएको सम्झनामा हरेक वर्ष अक्टोबर ९ (असोज २३) का दिन विश्व हुलाक दिवस मनाइँदै आइएको हो ।

दिवशको अवसरमा जिल्ला हुलाक कार्यालयका सूचना अधिकारी देवेन्द्र प्रसाद शर्माले अस्पतालमा उपचाररत नौ जना बिरामीहरूलाई फलफूल वितरण गर्दै स्वास्थ्य लाभको कामना गरे । उनले भने, “हुलाक सेवा केवल पत्र वा पार्सल पठाउने माध्यम मात्र होइन, यो जनताको भावना, सेवा र सन्देश बोकेको जीवन्त संस्था हो ।”

कार्यक्रममा हुलाक कार्यालयका कर्मचारी, पत्रकार तथा जिल्ला अस्पताल जाजरकोटका स्वास्थ्यकर्मीहरूको समेत उपस्थिति रहेको थियो। फलफूल वितरणसँगै हुलाक सेवाको महत्वबारे जानकारी दिँदै दिवसको सन्देश प्रवाह गरिएको थियो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया