भेरीका १ सय ८८ लाभग्राहीलाई पहिलो किस्ता रकम निकासा

जाजरकाेट। जाजरकोटको भेरी नगरपालिकाका १ सय ८८ जना भूकम्प प्रभावित लाभग्राहीका लागि घर पुनर्निर्माणको पहिलो किस्ताबापत रकम निकासा गरिएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय जाजरकोटले उक्त रकम हस्तान्तरण गरेको हो । पून नीर्माणका लागि नगरपालिकालाई पहिलो किस्ता बापतको ९४ लाख निकासा गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

भूकम्प पुनर्निर्माणअन्तर्गत लाभग्राहीलाई उपलब्ध गराइने पहिलो किस्ताको रकम स्थानीय विपद् कोषमा निकासा गरी प्रक्रिया अघि बढाइएका प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताए । प्रमुख जिल्ला अधिकारी बरालले भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमिल्सिनालाई पत्र तथा लाभग्राहीको सूची हस्तान्तरण गर्दै रकम निकासाको प्रक्रिया अघि बढाएका हुन् ।

पहिलो किस्ताबापत प्रतिलाभग्राही ५० हजार रुपैयाँका दरले १ सय ८८ जनाका लागि ९४ लाख रुपैयाँ स्थानीय विपद् कोषमा निकासा गरिएको प्रजिअ बरालले बताए ।

भूकम्प प्रभावित लाभग्राहीले घर पुनर्निर्माणको काम अघि बढाउन सहज होस् भन्ने उद्देश्यले पहिलो किस्ताको रकम निकासा गरिएको छ । निकासा भएको रकम लाभग्राही सम्म पुर्‍याउने गरी आवश्यक प्रक्रिया छिटो अघि बढाउन नगरपालिकालाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । “लाभग्राहीको सूची र आवश्यक पत्र नगरपालिकालाई हस्तान्तरण गरेका छौँ। अब नगरपालिकाले सम्बन्धित वडा कार्यालयसँग समन्वय गरेर लाभग्राहीलाई रकम भुक्तानी गर्ने प्रक्रिया अघि बढाउनुपर्छ,” प्रमुख जिल्ला अधिकारी बरालले भने । जिल्लाका अन्य पालिकाबाट आएका लावग्राहीको आवश्यक निर्णय असोज ८ गते बस्ने विपद् व्यवस्थापन समितिको बैठकबाट गरिने भएको छ । त्यसपछि नगरपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत लाभग्राहीलाई आवश्यक जानकारी तथा भुक्तानी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

भूकम्पबाट घरमा क्षति पुगेपछि लामो समयदेखि अस्थायी आवास तथा अन्य कठिन अवस्थामा बस्दै आएका प्रभावितका लागि पुनर्निर्माणको पहिलो किस्ता निकासा पछि घर निर्माण हुने आशा जागेको छ । पहिलो किस्ता प्राप्त भएपछि लाभग्राहीले स्वीकृत मापदण्ड अनुसार घर पुन र्निर्माणको काम अघि बढाउन सक्नेछन् । सम्बन्धित लाभग्राहीहरूले थप प्रक्रिया, आवश्यक कागजात तथा रकम भुक्तानीका विषयमा भेरी नगरपालिका कार्यालय वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया