जाजरकोटमा बाढीको वितण्डा : ४ घर र झोलुंगे पुल बगायो, सडक पूर्ण अवरुद्ध

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले नलगाड नगरपालिका–१० र ११ अन्तर्गत चौखा क्षेत्रमा चार वटा घर र तासुघाट खोलामाथिको झोलुंगे पुलको पश्चिमतर्फको भाग बगाएको छ। बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीले नलगाड–१० रोलीका पृथ्वीबहादुर विक, खैते विक, नरबहादुर विक र हस्त विकका घर बगाएको प्रहरीले जनाएको छ। चार घरमा रहेका ३७ जना परिवार सदस्य सुरक्षित स्थानमा बसेका छन्।

झोलुंगे पुल बगेपछि नलगाड–१० र ११ का स्थानीयसँगै गोतामकोट तथा डोल्पातर्फ आवतजावत गर्ने नागरिकसमेत प्रभावित भएका छन्। सडक अवरुद्ध र पुल बगेपछि बिरामी तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने नागरिकलाई थप समस्या भएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार जनाको टोली खटिए पनि पुल बगेका कारण घटनास्थलसम्म पुग्न सकेको छैन। घटनास्थलमा प्रहरी पुग्न नसकेकाले क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया