जाजरकाेटकी चन्द्रा सिंह मृत्यु प्रकरण : कविलाल पुर्पक्षका लागि थुनामा 

जाजरकोट। एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा मृत भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको मृत्यु प्रकरणमा जोडिएका नायब सुब्बा कविलाल विसीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढाको एकल इजलासले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा विसीलाई थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए।

प्रहरीले विसी विरुद्ध साउन ८ गते आत्महत्या दुरुत्साहनको कसुरमा जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरेको थियो। जाजरकोटको भेरी नगरपालिका–१ घर भई विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशालामा नायब प्राविधिक सहायक पदमा कार्यरत सिंह वीरेन्द्रनगर–७, इत्रामस्थित कार्यालयको आवास गृहमा बेहोस अवस्थामा भेटिएकी थिइन्। बेहोस अवस्थामा भेटिएकी सिंहलाई तत्काल उद्धार गरी देउती अस्पताल हुँदै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनालाई अस्वाभाविक भन्दै मृतकका श्रीमान् महेश बस्नेतले नायब सुब्बा विसी विरुद्ध किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले साउन १६ गते वीरेन्द्रनगर–८, खजुराबाट विसीलाई पक्राउ गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक सिंह र विसीबीच सामाजिक सञ्जाल फेसबुकमा भएका कुराकानी तथा केही शंकास्पद च्याट संवाद फेला परेको प्रहरीले जनाएको थियो। अदालतको आदेशसँगै विसी अब मुद्दाको अन्तिम फैसला नहुँदासम्म पुर्पक्षका लागि थुनामा रहनेछन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया