पत्रकारितामार्फत सामाजिक दायित्व, खड्कालाई सम्मान

जाजरकोट । पत्रकारितामार्फत विपद्का समयमा सामाजिक दायित्व निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव रेशमबहादुर खड्का सम्मानित भएका छन्।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले २०८३ साल साउन २९ र ३० गतेको अविरल वर्षा तथा त्यसपछिको मनसुनजन्य विपद्का क्रममा जिल्लाका विभिन्न क्षेत्रमा बाढी-पहिरोबाट पुगेको क्षति र विपद्को अवस्थाबारे वस्तुनिष्ठ समाचार तथा सूचना सम्प्रेषण गरेको भन्दै खड्कालाई सम्मानपत्र प्रदान गरेको हो।

सम्मानपत्रमा विपद्को विषम परिस्थितिमा सञ्चारमाध्यममार्फत तथ्यपरक सूचना सम्प्रेषण गरी देखाएको सामाजिक दायित्वको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको उल्लेख छ।

सम्मानपत्रमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्री, प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा र प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष नवराज बरालले हस्ताक्षर गरेका छन्।

सम्मानले विपद्का समयमा सूचना सम्प्रेषणमार्फत नागरिकलाई सचेत गराउने तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने पत्रकारको भूमिकालाई थप प्रोत्साहन गरेको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया