छेडागाडका ३६ पसलमा बजार अनुगमन, २३ हजार बढीका म्याद गुज्रिएका सामान नष्ट

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकाका विभिन्न बजारमा संयुक्त बजार अनुगमन गरिएको छ। नगरपालिकाको वडा नम्बर ५ र ११ अन्तर्गतका थलह बजार क्षेत्रमा असोज १८ गते अनुगमन गरिएको हो।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको विशेष पहलमा गरिएको अनुगमनका क्रममा ३६ वटा पसलको निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका उपभोग्य सामग्री बिक्रीका लागि राखिएको, मूल्यसूची नराखिएको, व्यवसाय दर्तासम्बन्धी आवश्यक कागजात व्यवस्थित नभएको तथा सामान खरिद-बिक्री गर्दा बिलबिजक जारी नगर्ने गरेको पाइएको छ। अनुगमन टोलीले म्याद गुज्रिएका कुल २३ हजार ५७२ रुपैयाँ बराबरका सामान बरामद गरी नष्ट गरेको छ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख जयराम बजगाइले बजारलाई व्यवस्थित बनाउनुका साथै उपभोक्ताको हकहित संरक्षण गर्ने उद्देश्यले अनुगमन गरिएको जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न व्यवसायीलाई निर्देशन दिइएको छ। पसलमा मूल्यसूची राख्न, व्यवसाय दर्ता तथा प्यानसम्बन्धी कागजात व्यवस्थित गर्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न र प्रत्येक कारोबारमा बिलबिजक जारी गर्न आग्रह गरिएको छ।

आउँदै गरेको तिहारलगायत चाडपर्वको समयमा बजारमा उपभोग्य वस्तुको माग र कारोबार बढ्ने भएकाले उपभोक्ता ठगिने, कृत्रिम मूल्यवृद्धि हुने तथा म्याद गुज्रिएका सामग्री बिक्री हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमन गरिएको प्रमुख बजगाइले बताए।

चाडपर्वका बेला उपभोक्ताले गुणस्तरीय वस्तु उचित मूल्यमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले बजार अनुगमनलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला कृषि विकास कार्यालय, स्वास्थ्य कार्यालय र छेडागाड नगरपालिकाका प्रतिनिधिहरू सहभागी थिए।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया