
जाजरकोट, कार्तिक १० । नेपाल तरुण दल जाजरकोटको ७२ औं स्थापना दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा फलफूल वितरण गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा नेपाल तरुण दल जाजरकोटले स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा फलफूल बितरण गरेको हो । समाजप्रतिको उत्तरदायित्वका साथ नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल तरुण दल, स्वास्थ्य सेवा कार्यालय जाजरकोट पुगेर भर्ना भएका २४ बिरामीलाई फलफूल सामग्री वितरण गरेको नेपाल तरुणदल जाजरकोटका अध्यक्ष लोकेन्द्र चन्दले बताए ।

अध्यक्ष चन्दका अनुसार स्थापना दिवसलाई समाजसेवाका कार्यहरूसँग जोड्दै बिरामीहरूलाई राहत दिन पाउँदा गर्व लागेको उनको भनाइ छ। तरुण दलले स्वास्थ्य सेवा कार्यालय परिसर भित्र सरसफाइ गरेको छ । स्वास्थ्य सेवा कार्यालयमा फोहरको बिषयमा केही समय पहिला सामाजिक सञ्जालमा टीकाटिप्पणी भएको थियो । तरुण दलले स्थापनाका दिवसको अवसर पारी शनिबार बिहान सरसफाइ गरेको छ ।
स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुन र स्वास्थ्यकर्मीहरूले तरुण दलको यो प्रयासको प्रशंसा गर्दै यसले बिरामीहरूको मनोबल बढाउने र सरसफाइको महत्त्वबारे जनचेतना फैलाउन सहयोग गर्ने उल्लेख गरे। कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय सदस्य रमेश चन्द, नेपाल विद्यार्थी संघका निराजन बिक्रम शाही, अनिश कुमार कार्की लगायत विभिन्न संगठनका सदस्यहरूको उपस्थिति रहेको थियो।







विनोद कुमार घर्ती (रिदम) । २०८१ कार्तिक १० गते शनिवार