
जाजरकोट । वित्तीय सुशासन, पारदर्शिता र कार्यसम्पादनमा भेरी नगरपालिका जाजरकोट जिल्लामै पहिलो भएकाे छ। जिल्ला समन्वय समितिले आर्थिक वर्ष २०८०/८१ का लागि गरेको मूल्याङ्कनमा जिल्लाका सातवटा स्थानीय तहहरूमध्ये भेरी नगरपालिकाले सन्तोषजनक प्रदर्शन गरेकोले बेरुजु सवै भन्दा कम देखिएको हो ।
महालेखापरीक्षकको कार्यालयबाट प्रकाशित प्रतिवेदनअनुसार, भेरी नगरपालिकाको बेरुजू ०.९८ प्रतिशतमा सीमित रहेको छ। यस आधारमा भेरी नगरपालिका कर्णाली प्रदेशका उत्कृष्ट १० स्थानीय तहहरूमध्ये सातौँ स्थानमा पर्न सफल भएको हो। पहिलो स्थानमा रहेको सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको बेरुजू ०.४४ प्रतिशत रहेको छ।
प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले पारदर्शी वित्तीय व्यवस्थापन र समयमै प्रतिवेदन प्रस्तुत गर्ने अभ्यासका कारण भेरी नगरपालिकाको बेरुजू कम रहेको बताए। “हाम्रो ध्यान सही प्रक्रिया, समयमै खर्च र पारदर्शितामाथि केन्द्रित छ। यसले नै आजको नतिजा सम्भव बनाएको हो,” उनले भने।
त्यस्तै, कार्यसम्पादन मूल्याङ्कनमा पनि भेरी नगरपालिका जिल्लामै उत्कृष्ट रहेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा भेरी नगरपालिका जाजरकोटका सात स्थानीय तहहरूमध्ये पहिलो स्थानमा परेको हो।
नगरप्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकाले अपनाएको विधिसम्मत काम गर्ने शैली, कानुनको पालना, र सार्वजनिक उत्तरदायित्वको अभ्यासले भेरीलाई यो स्थानमा पुर्याएको बताए। “हामी कुनै पनि काम कानुनबाहिर जाँदैनौं। पारदर्शिता हाम्रो प्राथमिकता हो, त्यसैले परिणाममा सुधार आएको हो,” उनले स्पष्ट पारे।
भेरी नगरपालिकाको यस प्रगति स्थानीय प्रशासनिक दक्षता, वित्तीय अनुशासन र उत्तरदायित्वमूलक नेतृत्वको उदाहरणका रूपमा लिइएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८२ जेष्ठ ६ गते मङ्गलवार