गाउँमै आत्मनिर्भर बन्ने सपना : युवा कृषक राजिव शाहको सफल यात्रा

“कृषिमा क्रान्ति, युवालाई रोजगारी; शिक्षामा समानता, विभेदको अन्त्य ।”

जाजरकोट जिल्लाको हरियो पहाड, चिसो बतास र गाई–बाख्राको घण्टी बजेको आवाज… त्यही प्राकृतिक सौन्दर्यले घेरिएको छेडागाड नगरपालिका–१०, काफ्ला गाउँमा बस्ने शाह परिवारमा २०६१ साल बैशाख १ गते एक बालक जन्मिए । जन्मस्थान भने जाजरकोटको खलंगा बजार हो । उनको नाम राजिव शाह राखियो । परिवारको स्थायी घर काफ्ला गाउँमै भएकाले राजिवको बाल्यकालदेखि अहिलेसम्मको जीवन गाउँमै बितिरहेको छ । परिवारले कहिल्यै कल्पना पनि गरेका थिएनन यही बालक एकदिन “कर्णालीकै कान्छो किसान” भनेर देशैभर चर्चित हुनेछ भनेर ।
राजिव सानैदेखि फरक देखिन्थे । साथीहरू खेलकुदमा रमाउँदा उनी खेततर्फ आकर्षित हुन्थे । बुवाआमालाई खेतबारीमा सहयोग गर्न, पशुपालनमा सघाउन उनी सधैं तत्पर हुन्थे । गोरुजोत्ने हात अझै सानो थियो, तर बोटबिरुवासँग माया गर्ने हृदय भने विशाल थियो ।
बाल्यकाल र शिक्षा
राजिव साधारण किसान परिवारका कान्छा सन्तान हुन् । उनका बुवा महेन्द्र शाह र आमा चन्द्रा शाह खेतीपातीमै व्यस्त रहन्थे । उनका जेठा दाइ राजु शाह नेपाल प्रहरी सेवामा छन् भने माइला दाइ राजन शाह अझै अध्ययनरत छन् । शिक्षा भने उनले निरन्तरता दिए । जाजरकोटको सवै भन्दा पुरानो स्कुल कस्तुरी सहकारी बोर्डिङ स्कुलमा कक्षा ५ सम्म पढे । त्यसपछि त्रिभुवन उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्दै माध्यामिक शिक्षा पास गरे। अहिले उनी दशेरा जनज्ञाजकुञ्ज क्याम्पसमा स्नातकोत्तर (Bachulor) अध्ययनरत छन् । शिक्षाले उनलाई दृष्टिकोण दियो, तर सपनाले बाटो देखायो । अरू युवाले जागिर वा विदेश पलायनको विकल्प खोज्दा उनले भने गाउँमै कृषि पेशालाई जीवनको आधार बनाए ।
कृषि व्यवसायमा पहिलो पाइला
बाल्यकालमा खेतमा पसिना बगाउने कुरा उनले रमाइलो ठाने । किशोरावस्थामा पुगेपछि त्यही रमाइलोलाई भविष्य बनाउनुपर्छ भन्ने निष्कर्षमा पुगे । २०८१ साल जेठ ३ गते उनले साहसिक निर्णय गर्दै “3RMC जडिबुटी तथा फलफूल उत्पादन फर्म” दर्ता गरे । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटमा दर्ता भएको यस फर्मको विशेषता के छ भने – आजसम्म उनले कुनै अनुदान वा सहयोग नलिई आफ्नै लगानीमा यसलाई अघि बढाएका छन् ।
परिवारले पनि उनलाई मनोबल दिए । घरमै रहेका गाई–भैंसी, खसी–बोका, कुखुरापालनबाट प्राप्त आम्दानीलाई व्यवसायमा लगानी गरियो । यसरी एउटा साधारण परिवारले कृषि व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउने साहस देखायो ।

जडीबुटी र फलफूल खेतीको विस्तार
राजिव शाहको फर्म अहिले ५९ रोपनी जमिनमा फैलिएको छ । त्यहाँ उनले सतुवाका दश हजार विरुवा लगाएका छन् । त्यस्तै, सुन्तोला दुई सय, ओखर दुई सय, किवी एक सय पचास, टिमुर एक सय, कागती एक सय र केरा पनि एक सय बिरुवा हुर्काइरहेका छन् । यी खेतीसँगै उनले हालसम्म करिब सैंतीस वटा व्यवसायिक बाख्रापालन पनि सुरु गरेका छन् । यी सबै खेती अहिले नाफाभन्दा लगानीकै चरणमा छन् । तर राजिवलाई दृढ विश्वास छ–पाँच वर्षपछि यी सबै बोटबिरुवाले उत्पादन दिन थालेपछि वार्षिक पच्चीसदेखि तीस लाखसम्म आम्दानी हुनेछ ।
आत्मनिर्भरता र सामूहिक सोच
राजिवले कृषिलाई केवल व्यक्तिगत आम्दानीको स्रोतका रूपमा मात्र हेर्दैनन् । उनी भन्छन् “देशलाई आत्मनिर्भर बनाउन कृषिमा लगानी गर्नुपर्छ । बाझो जग्गा खेर फाल्नु हुँदैन । त्यहाँ बोटबिरुवा रोपौं, फलफूल उत्पादन गरौं, यसैबाट हामी सबैले रोजगारी पाउँछौं।” उनको सोचले गाउँका युवामा चेतना जगाएको छ । धेरैले उनलाई देखेर खेतीतर्फ फर्किन थालेका छन् ।
राष्ट्रिय स्तरमा सम्मान
राजिवको मेहनत र दृष्टिकोणलाई देशले पनि पहिचान दियो । २०८० साल चैत्र १७ गते, रिपोर्टर्स क्लब नेपालको २७ आँै वार्षिकोत्सवमा उनलाई “कर्णालीकै कान्छो किसान” को रुपमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मानित गरे । यो सम्मानले राजिवलाई मात्र होइन, सम्पूर्ण जाजरकोटलाई गर्व दिलायो । गाउँका बुबाआमा, दाजुभाइ र साथीभाइ सबैको अनुहारमा गर्वको मुस्कान देखियो ।
सामाजिक उत्तरदायित्व
कृषिमा मात्रै नभई सामाजिक क्षेत्रमा पनि राजिव सक्रिय छन् । उनी हाल सूर्यकिरण युवा विकास केन्द्र, जाजरकोटका अध्यक्षका रूपमा काम गरिरहेका छन् । यो संस्थामार्फत उनी युवालाई नेतृत्व विकासमा प्रेरित गर्छन्, शिक्षामा समानता र अवसर सुनिश्चित गर्न अभियान चलाउँछन्, लैंगिक तथा जातीय विभेद अन्त्यतर्फ आवाज उठाउँछन् र सुशासनको पक्षमा युवालाई संगठित गर्छन् ।
उनको नारा
“कृषिमा क्रान्ति युवालाई रोजगार भ्रष्टाचार विरुद्ध हाम्रो आवाज शिक्षामा समानता लैङ्गिक विभेदको अन्त्य जातीय विभेद महिला हिंसा कुप्रथा कुशासन विरुद्धको हाम्रो अभियान” नेपाल र नेपाली हाम्रो पहिचान ।”
समकालीन सन्देश
आज नेपालका हरेक गाउँमा एउटै समस्या छ । बाझो जमिन, पलायन हुने युवा र घट्दो उत्पादन । राजिव शाहको कथा भने यसको प्रतिवाद हो । उनले देखाएका छन् । “देशमै बसेर पनि केही गर्न सकिन्छ । विदेश जानु मात्रै विकल्प होइन ।” यदि सरकारले यस्ता युवालाई तालिम, प्रविधि र बजारको सहज पहुँच दियो भने, नेपालले कृषिमा आत्मनिर्भर बन्न सक्ने सम्भावना धेरै छ ।

निष्कर्ष
जाजरकोटका सामान्य किसान परिवारमा जन्मिएका राजिव शाह आज प्रेरणाको नाम बनेका छन् । उनले जीवनमार्गका चुनौतीलाई अवसरमा बदल्दै कृषि व्यवसायलाई भविष्यको आधार बनाए ।

उनको कथा एउटा स्पष्ट सन्देश दिन्छ
“सपना देख्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई व्यवहारमा उतार्ने साहस चाहिन्छ ।”
राजिव शाह आजको पुस्ताका लागि मार्गदर्शक हुन् । उनी प्रमाण हुन् – नेपालको भविष्य कृषिमै छ, र त्यो भविष्य युवाको हातमै छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया