जाजरकोटमा आज रातिदेखि कर्फ्यू आदेश जारी

जाजरकोट । जाजरकोट जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्नका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार बेलुकी ८ः०० बजेदेखि शनिबार बिहान ५ः०० बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गर्नुभएको हो ।

कर्फ्यू अवधिभर सो क्षेत्रमा कसैले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ ।

कर्फ्यू लागू हुने क्षेत्रः भेरी नगरपालिकाभित्र पूर्वतर्फः वडा नं. १, पिपे, पश्चिमतर्फः वडा नं. ६, नेटाबजार, उत्तरतर्फः वडा नं. २, बाहुनठाना र दक्षिणतर्फः मटेला बजारसम्म रहनेछ ।

यसबाहेक अन्य स्थानीय तहका प्रशासनिक केन्द्रहरू पनि आदेशको दायरामा पर्ने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम राख्न सबैलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया