सात प्रतिबद्धतासहित छेडागाड–१३ बालमैत्री वडा घोषणा

जयन्ता खत्री, जाजरकाेट

जाजरकोट । छेडागाड नगरपालिका वडा नं. १३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन निर्देशिका २०७८, घोषणा कार्यविधि २०७९ तथा छेडागाड नगरपालिकाको बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७७ बमोजिम बालमैत्री स्थानीय शासनका ५१ वटा सूचक पूर्ण रूपमा कार्यान्वयन गरी दिगोपन सुनिश्चिततासहित वडालाई बालमैत्री घोषणा गरिएको हो।

खुशी राखौँ बालबालिकाको मुहार, बालमैत्री छेडागाड समृद्धिको आधार” भन्ने मूल नाराका साथ सात प्रतिबद्धतासहित गरिएको घोषणामा बालश्रममुक्त, हिंसारहित तथा बालविवाह निषेधित वातावरण निर्माण भएको आधारमा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको जनाइएको छ।

घोषणा कार्यक्रम वडा नं. १३ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको हो। कार्यक्रममा वडाभित्रका छवटा बालक्लब, एक बाल सञ्जाल, विद्यालय, नागरिक समाज, धार्मिक अगुवा समूह, स्थानीय सरकार, स्थानीय गैरसरकारी संस्था तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमअघि “बालविवाह अन्त्य गरौँ, बालमैत्री वडा निर्माण गरौँ” लगायतका नारा लगाउँदै बालबालिका र विद्यालयहरूको सहभागितामा र्‍याली प्रदर्शन गरिएको थियो। त्यसपछि बाजा समूह तथा छेडागाड नगरपालिका वडा नं. १२ को मयुर नाच समूहद्वारा अतिथिहरूको स्वागत तथा सम्मान गरिएको थियो।

कार्यक्रममा छेडागाड नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष मोतिलाल खत्रीको सभापतित्व रहेको थियो भने जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडक बहादुर बिसी प्रमुख अतिथि रहनुभएको थियो। यस्तै विशेष अतिथिहरूमा छेडागाड नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष, छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकाय, गैरसरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष सहदेव बस्नेत, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका निर्देशक टेक बहादुर सुनार तथा छेडागाड नगरपालिकाका शैक्षिक सल्लाहकार इलम शाही रहनुभएको थियो।

बालबालिकाको प्रतिनिधित्व गर्दै नारायणी बालक्लबकी सदस्य पुस्तिका सिंहले मन्तव्य राख्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नु सामान्य कार्य नभई चुनौतीपूर्ण र संवेदनशील दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले बालअधिकार सुनिश्चितताका लागि स्थानीय सरकार र सरोकारवाला निकाय गम्भीर र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

विद्यालयहरूको प्रतिनिधित्व गर्दै नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश कुमार बस्नेतले बालमैत्री वडा घोषणा गर्नु मात्र पर्याप्त नभई यसको दिगोपन महत्वपूर्ण रहेको बताउनुभयो। बालमैत्री घोषणा भइरहँदा पनि बालविवाह जस्ता समस्या कायम रहेमा यस्तो घोषणाको औचित्य नहुने भन्दै स्थानीय सरकार, जिम्मेवार निकाय र अभिभावकलाई थप संवेदनशील र सचेत हुन आग्रह गर्नुभयो।

बालमैत्री वडा घोषणाका लागि बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत विद्यालय भर्ना, विद्यालयमा छात्र–छात्रामैत्री शौचालय, सबै बालबालिकाको पूर्ण खोप, सबै घरमा शौचालय, जन्मदर्ता सुनिश्चितता लगायत न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान रहेको छ। बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार ५१ वटा सूचक पूरा गर्नुपर्ने व्यवस्था रहेको र वडा नं. १३ ले ती सबै आधारभूत मापदण्ड पूरा गरेको वडा अध्यक्ष मोतिलाल खत्रीले जानकारी दिनुभयो।

बालमैत्री वडा घोषणा सँगै सात बुँदे प्रतिबद्धतामा सबै सरोकारवालाहरूले हस्ताक्षर गरेका छन्। प्रतिबद्धता कार्यान्वयन गर्दै बालअधिकार सुनिश्चितता दिगो बनाउने साझा अठोटका साथ कार्यक्रम सम्पन्न गरिएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया