
जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत भेरी नगरपालिका–११ मटेलामा बिहीबार संयुक्त लागुऔषध सेवन (ला.प.से.) तथा मादक पदार्थ सेवन (मा.प.से.) चेकिङ कार्यक्रम सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोट जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक बुद्धी सागर पुरीको उपस्थितिमा तथा ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी सहायक निरिक्षक शैलेन्द्र कुमार मल्लको कमाण्डमा आवश्यक चिकित्सकसहितको संयुक्त टोली परिचालन गरिएको थियो।
सवारी चालकहरूलाई ट्राफिक नियमको पालना गराउने, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने चालकलाई कानुनी दायरामा ल्याउने, सुरक्षित तथा जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न प्रेरित गर्ने तथा सडक सुरक्षा अभिवृद्धि गर्दै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चेकिङ सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

चेकिङका क्रममा ५५ वटा सवारी साधन जाँच गरिएको थियो। तीमध्ये ५ जनाको लागुऔषध सेवन (ला.प.से.) परीक्षण गर्दा कसैमा पनि सेवन पुष्टि नभएकाले कारबाही गर्नुपरेन। यस्तै १५ जना चालकको मादक पदार्थ सेवन (मा.प.से.) परीक्षण गर्दा १ जना मोटरसाइकल चालक मापसे गरेको अवस्थामा फेला परेपछि कानुनबमोजिम कारबाही गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी अन्य ट्राफिक जाँचका क्रममा ३५ वटा सवारी साधन जाँच गर्दा ९ वटा सवारी साधन कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा ३ वटा जिप र ६ वटा मोटरसाइकल रहेका छन्।
यसरी चेकिङका क्रममा कुल ५५ वटा सवारी साधन जाँच गरी १० जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, मादक तथा लागुऔषध सेवन गरी सवारी चलाउने प्रवृत्तिको नियन्त्रण, सडक सुरक्षा अभिवृद्धि तथा दुर्घटना न्यूनीकरणका लागि यस्ता संयुक्त चेकिङ अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८३ साउन २१ गते बिहिवार