जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका १ खौलागाउँमा अवैध रूपमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ।
आइतबार बिहान इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायब निरीक्षक अर्जुन खड्काको कमाण्डमा खटिएको २० जनाको टोलीले करिब ६५ रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती फेला पारेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो।
डीएसपी पाण्डेका अनुसार लागूऔषध (नार्कोटिक्स) नियन्त्रणसम्बन्धी ऐन विपरीत हुने यस्ता अवैध गतिविधिमाथि कडा निगरानी राखिँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
प्रारम्भिक सूचनाअनुसार वडा नम्बर १ मा पहिलो चरणको अफिम खेती नष्ट गरिएको छ भने बाँकी वडाहरूमा पनि अफिम खेती गरिएको छ भन्ने सुचनाको आधारमा स्थलगत अनुगमन गरी अवैध अफिम खेती नष्ट गर्न सोही टोली सक्रिय रहेको डीएसपी पाण्डेले जानकारी दिनुभयो।

प्रहरीका अनुसार अफिमजस्ता अवैध बालीहरूले समाजमा गम्भीर असर पार्ने भएकाले यस्ता गतिविधिको अन्त्यका लागि स्थानीय तहसँग समन्वयमा नियमित अनुगमन र नियन्त्रण जारी रहनेछ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र २५ गते सोमवार