
जाजरकोट । जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी छेडागाड नगरपालिकाले जितेको छ । गत वर्ष पनि छेडागाड नगरपालिकाले जितेको शिल्ड पुनः छेडागाड नगरपालिकाले यसपटक पनि विजेता हासिल गरेको हो । छेडागाड नगरपालिका १२ स्थित नारायणी मा.वि. को खेल मैदानमा सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १० स्वणर्, १० रजत र ११ कास्य गरी जम्मा ३१ पदक सहित छेडागाड नगरपालिका प्रथम भएको हो ।
प्रतियोगितामा ९ स्वणर्, ५ रजत र २ कास्य सहित शिवालय गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ भने ८ स्वणर् २ रजत र ६ कास्य सहित भेरी नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ । नलगाड नगरपालिकाले १ स्वणर्, ५ रजत र ६ कास्य जितेको छ भने बारेकोट गाउँपालिकाले १ स्वणर्, ६ रजत र २ कास्य जितेको छ । त्यसैगरी कुशे गाउँपालिकाले १ स्वणर्, २ रजत र ४ कास्य जितेको छ ।

जिल्लाका ७ वटा पालिकामध्य ६ वटा पालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए । बजेट अभाव रहेको भन्दै जुनिचाँदे गाउँपालिकाले भने प्रतियोगितामा सहभागी जनाएन । प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुमा अन्तरपालिका बिच प्रतिस्पर्धा गराइएको थियो । जिल्ला स्तरीय प्रतियोगितामा पालिकाबाट छनौट कक्षा ८ देखि १२ सम्मका १८ वर्षमुनिका ३ सय ५० बढि विद्यार्थी खेलाडीहरुको सहभागिता भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेत (एनबी) ले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार जिल्ला स्तरमा उत्कृष्ट खेल प्रतिभा प्रस्तुत गर्ने खेलाडीहरुलाई विद्या अनुसार प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुनेछन । विभिन्न ५४ वटा विद्यामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।






द मालिका पोष्ट । २०८० माघ २९ गते सोमवार