
कबिता शिर्षक “मास्टरसाब”
कुनै एकबेला
म स्वयम् मास्टर हुनुको हैसियतले
मैले पनि छामेको छु
कयौं मास्टरहरुको मन,
सरकारी मास्टरले लगाउने
आकासे रङको सटको अघिल्तीर
एउटा खल्तीमा राता, काला डट्पेन
र कालै रङको बोर्डमार्कर कोचेर
झोलाभरी किताब र सिद्धान्तमा
कुनै पाटीको आस्था र बिचार बोकेर
कसैले देख्लान कि भनेर लुक्दै लुक्दै
एक समय म पनि हिडेको थिए
त्यही पाटिको प्रचार प्रसारमा
आउनुहोस मन थामेर सुन्नुहोस
म सुनाउछु आज तपाईं पनि
मेरो भोगाइ र कलिला नानिबबुहरुको चित्कार
सरकारी र निजि बिद्यालयहरुको अन्तर
आफ्नो भबिस्यको दस्ताबेज पल्टाउदै
तपाईं सरकार सम्म पुग्नु भयो,
तर यता गाउँघरमा बिचरा,
तपाइकै हातमा भाग्यरेखा कोर्ने
कलम र कापी सुम्पिएर
बसेका ससाना नानिबाबुहरुले
न त सरकार चिन्न पाए न त अक्षर नै
पल्टाउदैनन अचेल
स्कुल छेबैका परन्दास गनिने
नानीबाबुले किताबका पान्नाहरु
बरु सधै माटोमा खेली रहछ एकतमासले
अक्षर कुदिरहन्छ यहाँ ढुङ्गामा सधै,
स्कुल जस्तै घर बनाईरहन्छ बालुवाम सधै
गाइगोठाला जानमै तल्लीन देखिन्छन
हिजोका तिनै स्कुल टपरहरु
सायद यो पनि बिर्सिसके होलान
“अ “आ”/”क” “ख” र स्कुलको नाम पनि
जुन दिन देखि घण्टी बज्नै छोड्यो
मेरो घर उतापट्टीको स्कुलमा
त्यसै दिन देखि बहुत दिक्दार लाग्छ
भेटिनै छोडे म जस्तै मेरा दौतरीहरु पनि
बरु भेटिन थाले बाटोमा अचेल
मास्टर साब तपाइकै छोरा- छोरीहरु
बोर्डिङ स्कुल पढेर फर्कदै गरेका
खुसी र स्फुर्त चेहेराको साथमा
हातभरी किताब र कापी कलम बोकेर
सराकरी स्कुले मेरा साथीका जस्तै
मलिन अनुहार भन्दा कयौ गुण फरक
कस्ले बुझीदिने अब हाम्रो भबिस्य ?
कस्ले खोली दिने सरकारी स्कुलको ताला ?
उता भने सामाजिक संजाल
फेसबुकका भित्ताहरुमा देखिन्छ
नाच्ने, गाउने, बजाउने देखि लिएर
जादु देखाउने सम्मका चर्तिकला
मास्टरसाब तपाईं त,
राजधानी सम्म पुगेको आज हप्तौ दिन बित्यो
न फर्किनु हुन्छ न त स्कुलनै खुल्छ
यदि यसरी जानू नै थियो भने
बरु ताला स्कुलमा होइन,
हाम्रो भबिस्यमा लगाएर जानू थियो ।
घन्यबाद !
लेखक: पुष्कर पराग चन्द
भेरी नगरपालिका ५, जाजरकोट, हाल नेपालगन्ज






द मालिका पोष्ट । २०८२ बैशाख ८ गते सोमवार