
जाजरकोट । सुर्खेतमा ठूलो परिमाणमा लागुऔषध अफिमसहित एक व्यक्ति पक्राउ परेका छन्। बुधबार साँझ करिब साढे ६ बजे भेरीगंगा नगरपालिका–१० तालबारी क्षेत्रमा अफिम कारोबार भइरहेको गोप्य सूचनाका आधारमा निगरानी थालेको प्रहरीले जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका बस्नेतको साथबाट प्रहरीले पाँच किलो ५४० ग्राम गिलो अफिम, डिजिटल तराजु एक थान, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका पाँच थान चेक र नगद चार हजार सात सय तीस रुपैयाँ बरामद गरेको छ। सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीर राज शाहीका अनुसार बस्नेत सम्भावित कारोबारका लागि तालबारीमा आएका थिए ।
अफिमको ओसारपसारमा संलग्न रहेको पक्का भएपछि उनलाई पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले बताएको छ कि बस्नेत जाजरकोट लगायतका पहाडी जिल्लाबाट संकलन गरिएको अफिमलाई आर्थिक लाभका लागि भारतीय सीमातर्फ लैजाने तयारीमा थिए। घटनास्थल नजिकै उनलाई अफिम खरीदका लागि भारतीय नागरिकले बोलाएको पनि खुलेको छ, तर ती व्यक्ति भने भाग्न सफल भएका छन्।
बरामद अफिमको नेपाली बजार मूल्य करिब आठ लाख छयासी हजार चार सय रुपैयाँ पर्ने अनुमान गरिएको छ भने अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ५ करोडौं पर्ने भएकाले बस्नेतले अफिम विदेश लैजाने तयारी गरेको हुन सक्ने प्रहरीको अनुमान छ। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






द मालिका पोष्ट । २०८२ असार २६ गते बिहिवार