
जाजरकोट । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जाजरकोटमा सर्वदलीय–सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी राजनीतिक दलहरूले निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको अध्यक्षतामा तथा मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जिल्लास्थित सबै प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

बैठकले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसारका कार्यक्रमहरू मर्यादित, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । दलहरूले तोकिएको सम्पर्क व्यक्ति वा प्रतिनिधिमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग नियमित समन्वय गरी सभा, जुलुस, र्याली तथा अन्य कार्यक्रम सञ्चालन गर्ने सहमति जनाएका छन् ।
त्यसैगरी जुलुस, सभा, र्याली तथा यस्तै प्रचार-प्रसारका कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्ने, हातहतियार तथा हिंसात्मक सामग्री प्रदर्शन नगर्ने निर्णय गरिएको छ । कार्यक्रम आयोजना गर्दा समय, स्थान र मार्ग एक-आपसमा नजुध्ने गरी पूर्व जानकारी दिएर मात्रै आयोजना गर्ने, ध्वनी प्रदूषण नियन्त्रण गर्ने तथा ट्राफिक नियमको पालना सुनिश्चित गर्ने विषयमा पनि सहमति भएको छ ।

बैठकले जिल्लामा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न सबै राजनीतिक दल, संघ–संस्था तथा सरोकारवालाहरूले जिल्लास्थित सुरक्षा निकायसँग सहकार्य गर्ने निष्कर्ष निकालेको छ । राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचनलाई लोकतान्त्रिक, विश्वसनीय र शान्तिपूर्ण बनाउन संयुक्त रूपमा जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।






द मालिका पोष्ट । २०८२ माघ १९ गते सोमवार