जाजरकोट । जाजरकोटका प्रहरी निरीक्षक नवीनकुमार शाही कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतबाट २०८३ साल जेठ महिनाको ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
हाल जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी निरीक्षक शाहीले संगठनको नीति निर्देशन बमोजिम प्राप्त जिम्मेवारी उच्च अनुशासन, इमान्दारिता, बफादारी तथा व्यावसायिक निष्ठाका साथ सम्पादन गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयले जारी गरेको प्रशंसा पत्र अनुसार मिति २०७७/०३/०८ गते मुगु जिल्लाको साविक श्रीनगर गाविस वडा नं. ५ राघ्याचौरस्थित धैनकोट जाने सडकमा मृत अवस्थामा फेला परेको एक व्यक्तिको जघन्य हत्या प्रकरणलाई करिब १६ वर्षपछि विस्तृत अनुसन्धान गरी घटनामा संलग्न ७ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको कार्यको उच्च मूल्याङ्कन गरिएको छ।
उक्त घटनाको सफल अनुसन्धान, व्यावसायिक दक्षता र उत्कृष्ट कार्यसम्पादनका आधारमा प्रहरी पुरस्कार तथा प्रशंसा पत्र सम्बन्धी मापदण्ड, २०८२ बमोजिम प्रहरी निरीक्षक शाहीलाई २०८३ साल जेठ महिनाको ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ छनोट गरी पुरस्कृत गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

जाजरकोटका प्रहरी निरीक्षक नवीनकुमार शाही प्रदेशकै सर्वोत्कृष्ट प्रहरीका रूपमा छनोट भएपछि जिल्लावासी तथा शुभेच्छुकहरूले उनलाई बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। साथै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले पनि शाहीलाई हार्दिक बधाई दिएका छन्।







द मालिका पोष्ट । २०८३ असार २ गते मङ्गलवार