
जाजरकोट, असार १२ – जाजरकोटको छेडागाड नगरपालिका–१० निवासी धिरज वलीलाई इटाली पठाइदिने प्रलोभनमा पारेर मानव तस्करीमार्फत लिबिया पुर्याई बन्धक बनाइएको भन्दै उनको उद्धार तथा स्वदेश फिर्ताका लागि पहल गर्न सरकारसमक्ष माग गरिएको छ।
नागरिक अभियन्ता राजिव शाहले परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा धिरज वलीलाई गत वैशाख ५ गते इटाली पठाइदिने भन्दै मानव तस्करीको सञ्जालमार्फत लिबिया पुर्याइएको र हाल उनी त्यहीँ बन्धक अवस्थामा रहेको उल्लेख गरिएको छ।
ज्ञापनपत्रअनुसार, वलीमाथि अमानवीय व्यवहार गरिएको, परिवारसँग ठूलो रकम मागिएको तथा मानसिक र शारीरिक यातना दिइएको समाचार सार्वजनिक भएपछि जाजरकोटवासी तथा शुभेच्छुकहरू चिन्तित बनेका छन्।

ज्ञापनपत्रमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायले आवश्यक समन्वय गरी कूटनीतिक तथा अन्तर्राष्ट्रिय माध्यमबाट धिरज वलीको सकुशल उद्धार, आवश्यक सुरक्षा, उपचार तथा शीघ्र स्वदेश फिर्ताको व्यवस्था गर्न आग्रह गरिएको छ।
त्यसैगरी, घटनामा संलग्न मानव तस्करीमा आबद्ध व्यक्तिहरूलाई पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गर्नसमेत माग गरिएको छ।
नागरिक अभियन्ता शाहले यो गम्भीर मानवीय विषय भएकाले उच्च प्राथमिकतामा राखी तत्काल आवश्यक पहल थाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।






द मालिका पोष्ट । २०८३ असार १२ गते शुक्रवार