पाँचतारा युवा संरक्षक मञ्चद्वारा जाजरकोट प्रहरीलाई २ लाख २३ हजार बराबरको विपद् उद्धार सामग्री हस्तान्तरण

जाजरकोट । पाँचतारा युवा संरक्षक मञ्चले जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई रु. २ लाख २३ हजार २ सय ९१ रुपैयाँ ४० पैसा बराबरका विपद् उद्धार तथा राहत सामग्री हस्तान्तरण गरेको छ।

आज विहिवार आयोजित एक कार्यक्रममा मञ्चका अध्यक्ष छबी पन्तले जिल्ला प्रहरी कार्यालय जाजरकोटका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बुद्धि सागर पुरीलाई उक्त सामग्री कार्यालयमै लिएर हस्तान्तरण गरेका हुन्।

प्राकृतिक विपद्को उच्च जोखिम रहेको जाजरकोटमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले सामग्री उपलब्ध गराइएको हो। हस्तान्तरण गरिएका सामग्री विपद्का बेला प्रहरी टोलीले खोज तथा उद्धार, राहत वितरण र आपत्कालीन अवस्थामा प्रयोग गर्ने जनाइएको छ। यस सहयोगले विपद् व्यवस्थापनको पूर्वतयारीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छबी पन्तले विपद्का समयमा नागरिकको ज्यान जोगाउन प्रहरी सबैभन्दा अग्रपंक्तिमा खटिने भएकाले आवश्यक सामग्री उपलब्ध गराएर संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए। उनले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा निरन्तर साथ रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृत, पाँचतारा युवा संरक्षक मञ्चका पदाधिकारी तथा अन्य सरोकारवालाको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय जाजरकोटका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बुद्धि सागर पुरीले पाँचतारा युवा संरक्षक मञ्चप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगले विपद्का बेला खोज, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। समुदाय र सामाजिक संघसंस्थासँगको सहकार्यले प्रहरीको सेवा प्रवाह तथा विपद् व्यवस्थापन क्षमता थप सुदृढ हुने उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता रचनात्मक सहकार्यलाई निरन्तरता दिन आग्रह गरे।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया