
जाजरकोट । संविधान दिवस २०८३ को अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नलगाड नगर कार्यसमितिको आयोजनामा नगर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ।
अखिल क्रान्तिकारी जाजरकोट जिल्ला अध्यक्ष प्रदीप शर्माका अनुसार प्रतियोगिता भोलि बिहान ११ बजे नलगाड नगरपालिका–दल्लीस्थित त्रिभुवन माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ। प्रतियोगिताको विषय ‘जनयुद्धदेखि संविधान निर्माणसम्म माओवादी आन्दोलनको योगदान’ तय गरिएको छ।
नलगाड नगरपालिकाभित्रका माध्यमिक तहका इच्छुक विद्यालय तथा विद्यार्थीलाई प्रतियोगितामा सहभागी हुन आयोजकले आग्रह गरेको छ। सहभागी विद्यार्थीले सम्बन्धित विद्यालयको सिफारिस अनिवार्य रूपमा ल्याउनुपर्ने र नाम दर्ता गर्ने अन्तिम समय भोलि बिहान १० बजेसम्म तोकिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ५ हजार, द्वितीयलाई रु. ४ हजार, तृतीयलाई रु. ३ हजार र सान्त्वना हुनेलाई रु. १ हजार पुरस्कार प्रदान गरिनेछ। विजेताहरूलाई पुरस्कारसँगै प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
कार्यक्रमबारे जिल्ला अध्यक्ष शर्माले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी समाज, राष्ट्र र समसामयिक विषयमा आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने बनाउनुपर्ने बताउनुभयो।

“विद्यार्थीहरू केवल पाठ्यपुस्तकमा सीमित नभई समाज, राष्ट्र र समसामयिक विषयबारे आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने हुनुपर्छ। यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै नेतृत्व क्षमता विकासमा समेत सहयोग पुर्याउँछ। कलम, विचार र सिर्जनशीलतालाई विद्यार्थी आन्दोलनको बल बनाउँदै शिक्षा, अधिकार र सामाजिक रूपान्तरणका सवालमा विद्यार्थीको आवाजलाई अझ सशक्त बनाउनुपर्छ,” शर्माले बताउनुभयो।
उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा वक्तृत्वकला, सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न सहयोग पुग्ने बताउँदै प्रतियोगितामा उत्साहपूर्वक सहभागी हुन विद्यालय तथा विद्यार्थीलाई आग्रह गर्नुभएको छ।
अध्यक्ष शर्माले प्रतियोगिता आयोजना गरेकोमा अखिल क्रान्तिकारी नलगाड नगर कमिटीलाई धन्यवाद समेत दिनुभएको छ। विद्यार्थीको प्रतिभा पहिचान र प्रस्फुटनसँगै विचार तथा नेतृत्व क्षमता विकासमा सहयोग पुग्ने यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ।






द मालिका पोष्ट । २०८३ असोज २ गते शुक्रवार