पत्रकार महासंघ जाजरकोटद्वारा ‘तोरकीन’का लेखक शाही सम्मानित

जाजरकोट । पत्रकारिता र साहित्य लेखनका माध्यमबाट राष्ट्रियस्तरमा पहिचान बनाएका जाजरकोटका लेखक तथा पत्रकार रामकुमार शाही (क्षितिज समर्पण) सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ जाजरकोटले पत्रकारिता तथा साहित्यका क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान–पत्र प्रदान गरेको हो।
महासंघले एक कार्यक्रमको आयोजना गरी प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ जाजरकोटका उपाध्यक्ष विनोदकुमार घर्तीको अध्यक्षतामा शाहीलाई सम्मान गरिएको हो। कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरूको उपस्थिति थियो।

भेरी नगरपालिका–५ निवासी शाहीले जाजरकोटबाटै पत्रकारिता तथा साहित्य लेखनको यात्रा सुरु गरेका थिए। जिल्लामा रहेर पत्रकारिताको अभ्याससँगै साहित्य सिर्जनामा सक्रिय उनले आफ्नो लेखन यात्रालाई राष्ट्रियस्तरसम्म विस्तार गरेका छन्। उनी नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका निवर्तमान महासचिवसमेत हुन्।


शाहीद्वारा २०८२ सालमा प्रकाशित उपन्यास ‘तोरकीन’ ले उनको साहित्यिक यात्रालाई थप पहिचान दिएको छ। पत्रकारितामार्फत समाजका विषय उजागर गर्ने र साहित्य सिर्जनामार्फत सामाजिक जीवनका विविध पक्षलाई अभिव्यक्त गर्ने उनको यात्राको कदर गर्दै महासंघले सम्मान गरेको महासंघका सचिव रेशम बहादुर खड्काले बताए।
सम्मान कार्यक्रममा शाहीको सिर्जनशीलता, लेखनप्रतिको लगाव र पत्रकारिता तथा साहित्यमा पुर्‍याएको योगदानको प्रशंसा गरिएको थियो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया