जाजरकोटमा हावाहुरीले अस्थायी आवास उडाएपछि भूकम्प पीडितहरु विजोकमा

जाजरकोट । हावाहुरीले जाजरकोटका अस्थायी आवास उडाएपछि भूकम्प पीडितहरु विजोकमा परेका छन । शनिबार २ वजे आदा घण्टा लगातार आएको ठुलो हावाहुरीले भुकम्प पछिका अस्थायी आवास उडाएपछि भुकम्प पीडितहरु थप समस्थामा गरेका हुन ।
बारेकोट गाउँपालिका वडा नं. ०६ ताँसीका हरिश्चन्द्र विक गत कार्तिक १७ गतेको भूकम्पले घर चिराचिरा पारेपछि अस्थायी आवासमा बस्दै आएका थिए । विकको घरमा १७ जनाको परिवार छ । ठूलो संख्यामा रहेको परिवारलाई जसोतसो अस्थायी आवासमा सारेका थिए । तर शनिवार दिउँसोतिर चलेको हावाहुरीले उनको अस्थायी आवास उडाईदियो । ‘घर भूकम्पले चर्किएको थियो, बस्न लायक छैन्, उनले भने, ‘अहिले कहाँ बस्ने विचल्ली भएको छ, हावाहुरीले अस्थायी आवासको छाना उडाईदियो, ठूलो संख्यामा रहेको परिवारलाई कता व्यवस्थापन गर्ने समस्या भएको छ ।’
उनी जस्तै सोही गाउँका बसन्त विकको अस्थायी आवास पनि हावाहुरीले उडाएको छ । उनको घरमा पाँच जनाको परिवार छ । ‘भूकम्पले घर चर्किएपछि बस्न मिल्ने छैन्, उनले भने, ‘अस्थायी आवासको साहारामा थिर्यौं, हावाहुरीले त्यही अस्थायी आवास उडाईदियो, हामी अहिले निकै समस्यामा छौं ।’ उनीहरु त केही उदाहरण मात्रै हुन् । शनिवार दिउँसो तिर चलेको हावाहुरीले जाजरकोटमा सयौंको संख्यामा अस्थायी आवास उडाएको छ । बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीका अनुसार गाउँपालिकामा हावाहुरीले लाखौँको क्षति गरेको छ ।
उनले भने, ‘अहिले कति क्षति भयो भन्न सक्ने अवस्था छैन्, धेरैको अस्थायी आवास उडाएको छ । तथ्यांक संकलनका लागि प्रहरी यूनिट सँग सम्पर्क गरेका छौं ।’ केही कर्मचारीहरु परिचालन गरी क्षतिको विवरण संकलन भईरहेको अध्यक्ष गिरीले बताए । वडा नं। ३,६,७ को वडा कार्यालयमा क्षति पुगेको छ । यस्तै, गाउँपालिका मातहतमा रहेको स्वास्थ्य शाखाको भवनमा क्षति पुगेको अध्यक्ष गिरीले जानकारी दिए । प्रहरी चौकी लिम्सामा पनि हावाहुरीले क्षति गरेको छ । ‘यहाँ निजी अस्थायी आवास, सरकारी भवन, स्वास्थ्य संस्था उनले थपे, विद्यालय भवनमा समेत क्षति पुगेको छ ।’ ठ्याक्कै क्षतिको विवरण एकीन नभएको उनको भनाई छ । बारेकोट गाउँपालिका वडा नं। ९ मा हावाहुरीले रुख ढल्दा एक जना किसानका नौं वटा गाई मरेको अध्यक्ष गिरीले बताए । दिउँसो २ बजेतिर आएको हावाहुरी करिब आधा घण्टा जस्तो रहेको थियो ।
कुशे गाउँपालिकाका भित्रका दुई वटा सामुदायिक विद्यालय र १०० भन्दा बढी अस्थायी आवासमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिईन् । ‘हाम्रो गाउँपालिकामा पनि हावाहुरीले कति क्षति गरेको छ भन्ने जानकारी आएको छैन् उनले भनिन्, ‘अहिले सम्म धेरै अस्थायी आवासमा क्षति गरेको छ भन्ने जानकारी आएको छ, वडा नं. ६ को वडा कार्यालयमा क्षति पुगेको छ ।’ क्षतिको विवरण संकलन भईरहेको उनको भनाई छ ।
बारेकोट गाउँपालिका वडा नं। ६ मा रहेको सोलार सिस्टममा समेत क्षति पुगेको लेखापाल दीपक महताराले बताए । जाजरकोटमा सात वटै पालिकामा हावाहुरीले समान्य देखि गम्भीर रुपमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले केही ठाउँमा क्षति भएको जानकारी आएको बताए । केही ठाउँमा क्षति भएको भन्ने जानकारी आएको छ उनले भने, क्षतिको विवरण संकलन भईरहेको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया