
जनप्रतिनिधि जनताका सच्चा अभिभावक हुनुपर्दछ ।
भौगोलिक क्षेत्रको हिसावले मध्य पहाडी क्षेत्रमा पर्ने यो एक उच्च पहाडी जिल्ला जाजरकोट हो । राजनीतिक रुपमा यस जिल्लामा ३ नगरपालीका र ४ गाउँपालिकामा विभाजित छ । जस अनुसार ३ नगरपालिका मध्ये एक छेडागाड नगरपालिका पनि हो । जनप्रतिनिधिले आफुले पाएको दायित्व र भूमिकामा केन्द्रित भएर जनतासँग सरोकार रहेका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, शान्ति र स्थायित्वमा विशेष जोड दिँदै न्यायपूर्ण समाज निर्माणमा प्राथमिकता दिनुपर्छ । साथै आफुले जिम्मेवारी सम्हालेकोे तहको विकासका लागि आवश्यकता अनुसार नयाँनयाँ कार्ययोजना बनाई दिगो आर्थिक विकास र समृद्धिका नीति तथा कार्यक्रम ल्याउने र कार्यान्वयन गर्न जोड दिनुपर्दछ । भ्रष्टाचाररहित तथा सुशासनमा आधारित शासन व्यवस्था स्थापित गर्न जनप्रतिनिधिले भ्रष्टाचाररहित समाज निर्माण गरी सुशासन कायम गर्ने कार्यको अग्रपङ्क्तिमा रहेर नेतृत्व गर्नुपर्छ ।नयाँ पहिचानका साथ अघि बढ्न सक्ने क्षमता राख्न सक्नुपर्छ । लाभको एजेन्डालाई प्राथमिकता दिएर परिवर्तनको एजेन्डालाई ओझेलमा नपार्ने प्रणका साथ जनताको सेवामा समर्पित हुनुपर्छ । पारिवारिक बन्धनबाट माथि उठेर जनसमुदायको हितमा काम गर्ने, आदर्श, इमानदारी र नैतिकताको राजनीतिमा अडिएर काम गर्नुपर्छ । प्रशंसनीय र योग्य काम गरेर उदाहरणीय व्यक्तित्वका रूपमा पहिचान बनाउँदै सही निर्णय लिने र निर्णयको अन्त्यसम्म अडिन सक्ने क्षमताको विकास गर्नुपर्छ । परिवर्तनका विषयलाई व्यापक बहसमा ल्याई त्यसमा सहयोग र समर्थन जुटाउने, नैतिक आचरण तथा हर क्षेत्रका अनुशासनलाई जीवनभर अनुसरण गर्ने, सिकाइलाई निरन्तरता दिने कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ । जीवनमा सधैँैँ आशावादी बन्दै आम जनताको भरोसाको केन्द्र बन्नुपर्छ । जनप्रतिनिधिले निराशालाई सधैँ पराजयको प्रतीक सम्झँदै समुदायका कुरा सुन्ने, जनताकोे भावना बुझ्ने र त्यसबाट आफुलाई रूपान्तरित गरी अगाडि बढ्ने क्षमताको विकास गर्नुपर्छ । अर्काको कमीकमजोरी तथा गल्ती खोज्नुभन्दा पहिले आफ्ना कमजोरी र गल्ती खोज्ने बानीको विकास गर्नुपर्छ ।जनप्रतिनिधिले जनताका गुनासो तथा आलोचनालाई अमूल्य सुझावका रूपमा लिनुपर्छ र जनगुनासोलाई वस्तुगत ढङ्गले सम्बोधन गर्नुपर्छ, साथै आलोचना सही भए धन्यवाद दिँदै आफुलाई सुधारेर अगाडि बढ्नुपर्छ । नसकिने कुराको आश्वासन बाँडेर जनतालाई झुक्याउनु र निराश बनाउनुहुँदैन तर निरन्तर कोसिस गरेर असम्भवलाई पनि सम्भव बनाउन प्रयास गरिरहनुपर्छ । जनप्रतिनिधिले विपक्षीप्रति पूर्वाग्रही भावना नराखी मित्रवत् व्यवहारका साथ सम्बृद्ध छेडागाड हाम्रो भविष्यको नारालाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्छ । त्यस नगर भित्र हरेक सम्भावनाको खोजीका साथ जनता संग जनप्रतिनिधि कार्यक्रम संचालन गरी जनताका दैनिक समस्याहरुको समधान समयमा गर्न सक्नु पर्दछ । जनता तपाईहरुको भरोसाका केन्द्रविन्दु हुन । जनप्रतिनिधिले कर्तव्यनिष्ठ भएर नेतृत्व गर्दै जनसहभागितालाई विकासको आधार बनाउनुपर्छ । विज्ञ तथा स्थानीय जनसमुदायको सल्लाह र सुझावका आधारमा आफ्नो गाउँ तथा नगरको दिगो आर्थिक विकासको अवधारणा ल्याई वातावरण अनुकूल विकास निर्माणको कार्यमा जोड दिनुपर्छ । स्थानीय सरकारको परिकल्पनाले विकास गाउँगाउँमा पुगेको र जनतामा थप उत्साह थपिएको हुँदा जनप्रतिनिधिले जनतामा ऊर्जा थपेर अगाडि बढ्नुपर्छ । संविधानको मर्मअनुसार जनप्रतिनिधि जनताको सेवामा समर्पित भएर अगाडि बढ्ने हो भने छेडागाड बासीले विकास र समृद्धिका लागि लामो समय कुर्नु पर्दैन ।
लेखक: (विजय क्षेत्री छेडागाड जाजरकोट)






द मालिका पोष्ट । २०८१ बैशाख १० गते सोमवार