जुनीचाँदे गाउँपालिकाको नक्कली छाप र रसिदसहित दुई जना पक्राउ

जाजरकोट, जेठ ७ |  जाजरकोटको जुनिचाँदे गाउँपालिका नाममा नक्कली छाप, लेटरप्याड र रसिद बनाई ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जुनिचाँदे गाउँपालिका वडा नं. २ का २३ वर्षीय पारस शाही र वडा नं. ११ का २१ वर्षीय यज्ञश्वर बहादुर शाही रहेका छन्।

उनीहरूले गाउँपालिकाबाट निकासी हुने जडिबुटी तथा खनिजजन्य पदार्थ ढुवानी गर्ने गाडीका लागि नक्कली कागजात तयार गरी ठगी गर्ने उद्देश्यले नक्कली छाप, रसिद र लेटरप्याड बनाएर अबैध रुपमा रकम असुली गरेका थिए ।  प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बडावन प्रहरी चौकी जुनिचाँदेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई छेडागाड र जुनिचादेको सिमाना रादेउ स्थित सडक खण्डमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।

प्रहरी निरीक्षक चन्दका अनुसार निज पारस शाह र यज्ञश्वर बहादुर शाहीलाई सम्मानित जाजरकोट जिल्ला अदालत खलंगा जाजरकोटबाट पहिलो पटक दिन ५ (पाँच) को म्यादथप अनुमति लिई जिल्ला प्रहरी कार्यालय जाजरकोटका हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया