
जाजरकोट । नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशनका लागि जाजरकोटका राजन थापाले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सानै उमेरदेखि युवासंघको राजनीतिमा सक्रिय थापा बुटवलमा सम्पन्न महाधिवेशनमार्फत देशकै कान्छा केन्द्रीय सदस्यका रूपमा चयन भएका थिए। संगठनीक जीवनमा उनले पुर्याएको योगदानले उनलाई युवासंघभित्र चिनिएको र चर्चित पात्र बनाएको छ।
युवासंघ जाजरकोट जिल्लाको उपाध्यक्षको रूपमा संगठनमा प्रवेश गरेका थापा २०६९ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुँदै राष्ट्रिय तहमा स्थापित भएका थिए। त्यसयता उनी सचिवालय सदस्य, कोषाध्यक्ष, सचिव हुँदै हाल उपमहासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्।
थापाले विभिन्न जिम्मेवारी सम्हाल्दा देखाएको वैचारिक परिपक्वता, संगठनप्रतिको निष्ठा र नेतृत्व क्षमताले उनलाई संगठनभित्र विश्वासिलो र प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित गराएको छ। विशेषतः उनले संगठनभित्र खेलेको खरो भूमिकाले नेतृत्वदायी क्षमताको प्रमाण प्रस्तुत गरेको छ।
राष्ट्रिय युवा संघ नेपालको विधानअनुसार कुनै पनि कमिटीमा बस्न ४० वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ। ३५ वर्षका थापा उमेरका हिसाबले पनि उपयुक्त उम्मेदवार मानिएका छन्। यद्यपि उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि महासचिव पदका लागि संगठनभित्र उनको बलियो दाबेदारी देखिएको छ।
युवासंघका एक नेताका अनुसार उपमहासचिव थापा महासचिव पदका लागि सबैभन्दा बलिया उम्मेदवार हुन्। ती नेताका अनुसार, “राजन थापा युवा संघको ब्रान्ड हो, चुनाव भए पनि ढुक्कसँग जितिन्छ।”
एमालेको नयाँ नीतिअनुसार युवा संघको पदाधिकारी संख्या १७ बाट घटाएर ९ मा सीमित गरिनेछ। त्यसअनुसार अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव, चार सचिवसहित १५१ सदस्यीय कमिटी महाधिवेशनबाट निर्वाचित हुने छ। ४० वर्षको उमेर सीमा लागू हुने भएकाले धेरै नेताहरूका लागि यो अन्तिम अवसर बन्न सक्ने देखिन्छ।






विनोद कुमार घर्ती (रिदम) । २०८२ जेष्ठ ११ गते आइतवार