
भेरी नगरपालिकामा सातौँ मेयर कप राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ। भेरी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार प्रतियोगिता भेरी त्रिवेणी माध्यमिक विद्यालय, रिम्नामा माघ ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ। नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागितामा प्रतियोगिता आयोजना गरिने जनाइएको छ।
बैठकमा बोल्दै भेरी नगरपालिका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्रतियोगितालाई सफल, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
समितिले प्रतियोगिताको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक तयारी, समन्वय तथा प्राविधिक पक्ष समयमै पूरा गर्ने निर्णयसमेत गरेको छ। भेरी नगरपालिकाले विद्यार्थी प्रतिभा पहिचान तथा खेलकुद विकासलाई प्राथमिकतामा राख्दै प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ।






सुरन्द्र बहादुर खड्का । २०८२ पुष २२ गते मङ्गलवार