
कविता-“म ‘म’ बन्नु अघि: बाआमाको मौन तपस्या”
कविता:
हिमालमा पुग्नु अघि
मेरो शिरमा पुग्छ उज्यालो
यो उज्यालो
मेरो एक्लो मेहनतले होइन—
मेरो जीवनभरि
अन्धकारसँग लड्ने
दुई अनुहारको बलिदानले पुगेको हो।
म सानो थिएँ,
सायद म ठुलो संसारको विचमै
विलिन हुन्थे होला
तर संसारको कुनै शक्तिले मलाई नछुने गरी
मेरो बुवा ठिंङ्ग अगाडि उभिनु भयो,
आमाले पछाडिबाट सम्हालिरहनुभयो।
यो अनन्त यात्राका दुई सारथी
मेरा बाआमा हुन
बा—
उहाँ कहिल्यै धेरै बोल्नुभएन,
तर उहाँको मौनता
मेरो पाठ्यपुस्तक भन्दा
कैयौं गुणा ठुलो थियो।
मलाई घामले पोल्दा
उहाँको पसिना बग्थ्यो,
किनकी म छायामा हुर्कन सकूँ भनेर।
आमा—
उहाँको हाँसो
अक्सर मधुरो हुन्थ्यो,
किनकि उहाँले आफ्नो
सबै इच्छा र चाहानाहरु
मेरो आवश्यकतासँग साटिदिनुभयो।
म निदाउँने वित्तिकै
मेरी आमाको रात सुरु हुन्थ्यो,
म हाँस्न शुरु हुँदा देखि नै
मेरी आमाका आँसु लुक्थे।
म लडें,
धेरै पटक लडें,
सपनाभन्दा
डर ठूलो भएको बेला,
बुबाको काँध
मेरो ढाल बन्यो,
मेरी आमाको काख
सुरक्षित स्थान बन्यो।
मैले कैयौं पटक हारे
उहाँहरूले कहिले सोध्नुभएन—
“तैले किन हारिस?”
बरु त्यसको सट्टा सोध्नु हुन्थ्यो —
“भन छोरा कहिले जित्छस्?”
यो प्रश्न गर्ने महान योद्धा
मेरो बाआमा हुन
म अगाडी बढ्दै गएँ,
म झन् झन् बलियो हुँदै गएँ,
तर त्यो सँगसँगै
मेरो बुवाको कम्मर
अलिअलि झुक्दै गयो,
मेरी आमाको कपाल
अलिअलि सेतो हुँदै गयो।
म ठूलो हुँदै गएँ,
जोश जाँगर भरिदै गयो
म कामले थकित भएर आँउथे
तर अचम्म के लाग्छ भने—
मेरो भविष्यप्रतिको चिन्ताले
मेरा बुढा बाआमा
कहिल्यै थाकेको देख्न पाइएन।
आज म बोल्दै छु,
शब्दहरू मेरा हुन्,
तर भाव
मेरा बाआमाको हो।
आज म जे छु
जस्तो छु
उनीहरूको मौन सहमति
र नथाक्ने प्रार्थनाको परिणाम हो।
म आज म यही ठाउँबाट
एउटा स्वीकारोक्ति गर्न चाहन्छु—
म सफल भएँ भने
त्यो मेरो मेहनत मात्र हो,
तर म असल मान्छे बनेँ भने
त्यो मेरो बाआमाको शिक्षा हो।
आज म गर्वका साथ भन्न सक्छु
दुनियाँको सामु छाती फुलाएर भन्न सक्छु
म जन्मिनु संयोग मात्र थियो,
सौभाग्य मात्र थियो
तर म “म” बन्नु
मेरो बुबाआमाको तपस्या थियो।
त्यसैले
यदि कहिल्यै मेरो नाम
तालीसँग जोडियो भने,
त्यो ताली
मेरो होइन—
मेरा भगवानरुपी
बाआमाको हो।
आज मलाई एउटा कुरा
नभनी करै लाग्छ
र त नतमस्तक भएर भन्छु
सम्पूर्ण हृदयले भन्छु—
“म भन्दा पहिले,
म अझै अवुझ र सानो छु
मेरो बुबाआमा महान् छन्।
लेखक गंग विवस आर.सी .जाजरकोट छेडागाड नगरपालिका निमित्त प्रमुख प्रशसकीय अधिकृत हुनुहुन्छ ।






गंग विवस आर.सी. । २०८२ पुष २१ गते सोमवार