विद्यार्थी आन्दोलनबाट उदाएका नारायण घर्ती प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जाजरकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विद्यार्थी आन्दोलनबाट उदाएका युवा नेता नारायण घर्तीको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

आइतबार बसेको एमाले जाजरकोट जिल्ला कमिटीको बैठकले घर्तीसहित निरज आचार्य, डम्बरबहादुर सिंह, कौसिला खत्री र गणेश थापालाई प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

नारायण घर्तीले २०५८ सालमा जाजरकोटस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा अखिल (अनेरास्ववियु) मा आबद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए। विद्यार्थी आन्दोलनमा निरन्तर सक्रिय रहँदै उनले २०६७ सालमा अखिलको केन्द्रीय सदस्य, २०७२ मा सचिवालय सदस्य तथा २०७६ मा उपमहासचिव एवं संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए। संगठन निर्माण र विस्तारमा प्रभावकारी भूमिका खेलेका घर्ती २०७९ सालमा अखिलको उपाध्यक्ष बनेका हुन्।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यको तयारीमा रहेका घर्तीले संगठनलाई युवामैत्री, गतिशील र वैचारिक रूपमा सबल बनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। उनी जनताको बीचमा निरन्तर रहने, जनपक्षीय भूमिकामा उभिने र व्यवहारमै जनप्रेमी नेतृत्व प्रस्तुत गर्ने नेताका रूपमा परिचित छन्।

विशेषगरी जाजरकोट भूकम्पको कठिन समयमा घर्ती जनताकै बीचमा रहेर सक्रिय रूपमा खटिएका युवा नेतामध्ये एक बनेका थिए। विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनामा देखाएको भूमिकाले उनीप्रति जनविश्वास अझ बलियो बनेको स्थानीयको भनाइ छ।

गरिब परिवारबाट संघर्ष गर्दै हुर्किएका घर्ती सरल, मिजासिला, निडर, अनुशासित र विकासप्रेमी युवा नेता भएको एमाले जाजरकोटले जनाएको छ। जिल्लाका विभिन्न उमेर समूहमा लोकप्रियता कमाएका उनलाई पार्टीभित्र मात्र नभई आम जनताले पनि भरोसायोग्य नेतृत्वका रूपमा हेर्ने गरेका छन्।

युवाशक्ति, संगठनात्मक अनुभव र जनसमर्थनको संयोजनका रूपमा नारायण घर्ती प्रतिनिधिसभा निर्वाचनमा प्रभावकारी उम्मेदवार हुने निष्कर्षसहित पार्टीले उनको नाम सिफारिस गरेको जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया