भूगर्भविज्ञसहितको टोली जाजरकोट पहिरो प्रभावित क्षेत्रमा, बस्ती स्थानान्तरणबारे अध्ययन सुरु

जाजरकोट । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)को भूगर्भविज्ञसहितको टोली जाजरकोटको पहिरो प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले भेरी नगरपालिका–२, रिसाङसहित आसपासका जोखिमयुक्त क्षेत्रमा स्थलगत अध्ययन तथा निरीक्षण सुरु गरेको हो।

पहिरोबाट भएको क्षति, थप जोखिम र प्रभावित नागरिकको तत्कालीन आवश्यकताबारे जानकारी लिन टोली बुधबार रिसाङ पुगेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए। टोलीले प्रभावित स्थानीयसँग भेटघाट गरी उनीहरूको सुरक्षा तथा बसोबासको अवस्थाबारे समेत जानकारी लिएको छ।

यस क्रममा प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढा, नेपाली सेनाको भवानी दल गणका प्रमुख सेनानी गोविन्द थापा, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख बुद्धिसागर पुरी, सशस्त्र प्रहरी बल जाजरकोट गुल्म हेडक्वार्टरका प्रमुख गजेन्द्रबहादुर चन्द तथा भेरी नगरपालिकाका जनप्रतिनिधिलगायतले पनि रिसाङ पुगेर प्रभावित नागरिकसँग भेटघाट गरेका छन्।

प्राधिकरणका उपसचिव सुरेश सुनार, जियोलोजिस्ट डा. प्रकाश पोख्रेल र लेखराज भट्ट, शाखा अधिकृत निरञ्जनप्रकाश निरौला, इन्जिनियर जगदीश विष्ट र मेटेरियोलोजिस्ट राजन लामिछानेसहितको टोलीले प्रभावित क्षेत्रको अध्ययन गरिरहेको छ।

टोलीले भेरी नगरपालिका–१, २, ३ र ४ का विभिन्न पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नेछ। प्रारम्भिक अध्ययनपछि दुई दिनभित्र प्रतिवेदन दिने तयारी गरिएको छ।

प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढाले पहिरो प्रभावित नागरिकको तत्कालीन सुरक्षा र दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए। उनले भूगर्भविज्ञको अध्ययनपछि मात्रै बस्ती स्थानान्तरण वा पुनर्स्थापनाबारे निर्णय गर्नुपर्ने धारणा राखे।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार विज्ञ टोलीको प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि प्रभावित बस्ती स्थानान्तरण गर्ने वा हालकै स्थानमा सुरक्षित बसोबासको व्यवस्था गर्ने विषयमा ठोस निर्णय लिन सकिनेछ। तत्काल अस्थायी रूपमा बसोबास गर्नुपर्ने अवस्था भए कहाँ सुरक्षित हुन्छ भन्ने विषयमा पनि विज्ञ टोलीको सुझावका आधारमा निर्णय गरिने उनले बताए।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया