पोखरा घुम्नलाई निम्तो दिन पर्यटन व्यवसायी कर्णालीमा


सुर्खेत । पोखराका पर्यटन व्यवसायी ‘जाउँ है पोखरा’ अभियान लिएर कर्णाली पुगेका छन् । पर्यटनको संख्या बढाउन तथा पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने उद्देश्यले होटल संघ पोखराका पर्यटक व्यवसायी सो अभियान लिएर कर्णाली पुगेका हुन् । उनीहरुलाई सुर्खेत वीरेन्द्रनगरमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग वाणिज्य संघ कर्णालीका अध्यक्ष पदम शाही, होटल व्यवसायी संघ कर्णालीका अध्यक्ष तप्तबहादुर शाही लगायतकाले स्वागत गरे ।
गत वर्ष फागुनमा व्यवसायीहरुले पूर्वी नेपालका विभिन्न शहरमा सो अभियान अभियान सम्पन्न गरिसकेका बताएका छन् । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा जेठ २९ गतेदेखि आगामी असार २ गते सम्म पश्चिम नेपालका वुटवल, नेपालगन्ज, सुर्खेत र दाङ (घोराही) मा जाउँ है पोखरा संचालन हुँदैछ । उनीहरुले असार १ गते अर्थात आज (आइतवार) कर्णालीका पर्यटकलाई पोखरा भ्रमण गर्न निम्तो दिएका छन्‌्‌्‌्‌्‌्‌्‌्‌् ।

होटल संघ पोखराका नेपालका अध्यक्ष एवम् ‘जाउँ है पोखरा’ अभियानका संयोजक लक्ष्मण सुवेदीले यहाँका पर्यटकलाई पोखरा आउन र पोखराबाट समेत पर्यटकलाई पश्चिम ल्याउने उद्देश्य रहेको बताए । उनले यहाँका पर्यटन व्यवसायीलाई पनि ‘जाउँ है सुर्खेत’ अभियान लिएर पोखरा आउन आग्रह गरे । ‘यहाँ विभिन्न पर्यटकीय ठाउँ छन् । यस्तो रमणीय ठाउँमा पर्यटक भित्राउन सकिएमा आर्थिक आम्दानी हुने सम्भावना राम्रो छ ।’ अध्यक्ष सुवेदीले भने, ‘यस्तो ठाउँ भएका पर्यटन व्यवसायीहरु पनि ‘जाउँ है सुर्खेत’ अभियान लिएर पोखरा आउनुहोला ।’
साथै उनले पोखरा महानगरपालिकाले घोषणा गरेको “पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत यस अभियानले सहयोग गरर्ने बताए । अध्यक्ष सुवेदीले पर्यटनका लागि विशेष गरी (कनेक्टिभिटि) महत्वपूर्ण हुने कुरालाई ख्याल गर्दै पश्चिम नेपालका विभिन्न शहरबाट पोखरासम्म सिधा हवाई उडान तथा स्तरीय बस सेवा संचालनका लागि सम्बन्धित सबैको पहल र सक्रियताका लागि समेत आग्रह गरे ।
उनले पोखरा र भैरहवामा बनेका अन्तर्राष्ट्रिय विमानस्थलको नियमित संचालनका लागि समेत सबै मिलेर सरकारलाई दवाव दिन जरुरी रहेको बताए । उनले पोखराको होटल क्षेत्रमा पाँच खर्ब भन्दा बढी हाराहारीको लगानी रहेको बताउँदै एक हजार दुई सय होटलमा ४० हजार बेड रहेको दाबी गरे ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया