
राजेन्द्र खत्री
जाजरकोट । सशस्त्र प्रहरी बल, नेपाल गुल्म हे.क्वा. जाजरकोटले सशस्त्र प्रहरी बलको २५ औँ स्थापना दिवसको अवसरमा त्रीभुवन माध्यमिक बिध्यालयमा लागुऔषध दुरुपयोग तथा दुर्व्यसन नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।
नगरपालिका–३ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ८ देखि १२ सम्म अध्ययनरत करिब २०० जना विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने असरबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हे.क्वा. जाजरकोटका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुजन थापाले करिब एक घण्टाको प्रशिक्षण कक्षा लिनुभएको थियो। उहाँले लागुऔषधको परिचय, किशोर–किशोरीहरू कुलतमा फस्ने कारण, दुर्व्यसनका सामाजिक तथा मानसिक प्रभाव, साथै कुलतबाट बच्ने उपायबारे विस्तृत जानकारी दिनुभयो। उहाँले असल संगत, आत्मअनुशासन, अभिभावक तथा शिक्षकसँगको सहकार्य र सिर्जनात्मक क्रियाकलापमा संलग्न हुन सकेमा दुर्व्यसनबाट टाढा रहन सकिने बताउनुभयो।

कार्यक्रमका अवसरमा विद्यालयका प्रधानाध्यापक भक्त बहादुर मल्लले पछिल्लो समय विद्यार्थीहरूमा लागुऔषध दुर्व्यसनको जोखिम बढ्दै गएको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले सशस्त्र प्रहरी बलद्वारा प्रदान गरिएको प्रशिक्षणले विद्यार्थी तथा विद्यालय परिवारलाई महत्वपूर्ण ज्ञान र चेतना प्रदान गर्ने विश्वास व्यक्त गर्दै आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
सशस्त्र प्रहरी बलले समाजमा शान्ति, सुरक्षा, विपद् ब्यबस्थापन, लागुऔसध दुर्ब्यसन बिरुद्द लगायतका बिषयहरुमा जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। उक्त कार्यक्रमले विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनबाट जोगिन प्रेरित गर्नुका साथै सचेत र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






द मालिका पोष्ट । २०८२ पुष २४ गते बिहिवार