
जाजरकोट । जाजरकोट को भेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ। नगर प्रमुख तथा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिका संयोजक चन्द्रप्रकाश घर्तीको अध्यक्षतामा बसेको बैठकले वडास्तरमा बजेट निर्माणका लागि विभिन्न मार्गदर्शन पारित गर्दै जनप्रतिनिधिहरूलाई अन्तिम गृहकार्यमा जुटाएको हो।
बैठकले वडा समितिहरूलाई निर्धारित बजेट सीमाभित्र रहेर आगामी आर्थिक वर्षका योजना तथा कार्यक्रम तयार गरी जेठ ३० गतेभित्र योजना अनुगमन तथा प्रशासन शाखामा पेश गर्न निर्देशन दिएको छ।
नगरपालिकाले यस वर्ष बजेट निर्माणमा साना तथा छरिएका योजनाभन्दा प्रभावकारी र परिणाममुखी कार्यक्रमलाई प्राथमिकता दिने नीति लिएको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए।
बैठकले पारित गरेको मार्गदर्शनअनुसार वडा समितिले कुनै पनि आयोजना तथा कार्यक्रमका लागि ३ लाख रुपैयाँभन्दा कम बजेट विनियोजन गर्न नपाउने व्यवस्था गरिएको छ। नगरपालिकाले सीमित स्रोतलाई धेरै साना योजनामा बाँडफाँड गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसक्ने निष्कर्ष निकाल्दै न्यूनतम बजेट सीमा तोकेको नगर प्रमुख घर्तीले बताए ।
विगतमा थोरै रकमका धेरै योजनाहरू समावेश हुँदा कार्यान्वयनमा समस्या देखिएको र योजनाको प्रभावकारिता कमजोर बनेको भन्दै नगरपालिकाले यस पटक न्यूनतम बजेट सीमा निर्धारण गरेको छ । नगरपालिकाले भुगोल जनसंख्यालाई प्राथमिकतामा राखेर बजेट सिलिङ सवै वडामा पठाएको छ ।
स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले उपलब्ध गराएको बजेट सिलिङको रकम अवण्डा राख्न नपाइने निर्णय पनि गरिएको छ। सबै रकम योजना तथा कार्यक्रममार्फत स्पष्ट रूपमा विनियोजन गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकले अधुरा तथा अपुरा आयोजनाहरूलाई प्राथमिकता दिनुपर्ने, योजना तथा कार्यक्रम तर्जुमा गर्दा समावेशी, लैङ्गिक तथा बालमैत्री दृष्टिकोण अपनाउनुपर्ने, वडाबाट प्राथमिकताका आधारमा योजना छनोट तथा सिफारिस गर्नुपर्ने र स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७४ अनुसार क्षेत्रगत रूपमा योजना छनोट गर्नुपर्ने निर्णयसमेत गरेको छ। भने आगामी आर्थिक वर्षको बजेटलाई विकास निर्माण, सामाजिक समावेशिता तथा सेवा प्रवाह सुधारसँग जोडेर तयार पार्ने तयारी गरिरहेको जनाएको छ। वडास्तरमा अहिले जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीच छलफल तीव्रता साथ अन्तिम चरणमा पुगेको छ।
स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले भेरी नगरपालिकाका जनप्रतिनिधि यतिबेला बजेट तथा कार्यक्रम निर्माणको अन्तिम कसरतमा जुटेका छन्। नगरपालिकाले आगामी बजेटलाई उत्पादनमुखी, दिगो तथा नागरिकको प्रत्यक्ष जीवनस्तरसँग जोडिने खालको बनाउने लक्ष्य लिएको जनाएको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८३ असार ९ गते मङ्गलवार