२ महिनामा जाजरकोटमा २२ मुद्दा दर्ता, फरार ६ पक्राउ, २६ नाल अवैध घरेलु हतियार नियन्त्रण

जाजरकोट, असार २५। जिल्ला प्रहरी कार्यालय जाजरकोटले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत जेठ १ गतेदेखि असार २३ गतेसम्मको दुई महिनाको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागूऔषध तथा अवैध हतियार नियन्त्रण, प्रविधिमैत्री प्रहरी सेवा विस्तार र समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीले सार्वजनिक गरेको विवरण अनुसार उक्त अवधिमा जिल्लाभर २२ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। तीमध्ये २६ वटा मुद्दा सफलतापूर्वक फर्छ्योट गरिएको प्रहरीले जनाएको छ।

अदालतबाट विभिन्न समयमा फैसला भई फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरी उनीहरूमाथि १ महिना १३ दिनको कैद सजाय कार्यान्वयन गरिएको छ। पक्राउ परेका प्रतिवादीबाट रु. १८ लाख ४ हजार २०० जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

अवैध हतियार नियन्त्रण अभियानअन्तर्गत प्रहरीले जिल्लाका विभिन्न स्थानबाट २६ नाल अवैध घरेलु हतियार बरामद गरी नियन्त्रणमा लिएको छ। त्यस्तै लागूऔषधविरुद्धको अभियानमा ७२.९० ग्राम चरेससहित १ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ।

चोरी भएका नागरिकका सामान फिर्ता गराउने अभियानअन्तर्गत प्रहरीले हराएका १४ थान मोबाइल फोन फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। यसलाई नागरिकमैत्री प्रहरी सेवाको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।

वन पैदावारको अवैध ओसारपसार नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अभियानमा ३ वटा ट्र्याक्टरसहित अवैध नदिजन्य तस्करी (बालुवा) नियन्त्रण गरिएको छ। उक्त कारबाहीबाट रु. २४ हजार ५०० बराबरको राजस्व संकलन भएको प्रहरीको विवरणमा उल्लेख छ।

प्रहरीले अपराध नियन्त्रणसँगै नागरिकमा कानुनी सचेतना अभिवृद्धिलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तह, विद्यालय तथा समुदायमा १३० वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५ हजार ४ सय ६२ जना नागरिकलाई लागूऔषध, साइबर अपराध, घरेलु हिंसा, ट्राफिक सुरक्षा, बालअधिकार तथा सामाजिक विकृतिविरुद्ध सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।

प्रविधिमैत्री सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन भेरी नगरपालिका–१३ अन्तर्गत डोल्पा–जाजरकोट सडक खण्ड तथा बजार क्षेत्रमा ८ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ। साथै सामाजिक सञ्जालमार्फत हुने अफवाह, साइबर अपराध तथा गैरकानुनी गतिविधिमाथि निगरानी राख्न Social Media Monitoring Desk स्थापना गरिएको प्रहरीको भनाइ छ।

यस अवधिमा प्रहरी संगठनभित्रको कार्यसम्पादन सुधार र सेवाको गुणस्तर अभिवृद्धिका लागि Hiking/Nature Walk, कार्यालय सरसफाइ अभियान, प्रहरी कर्मचारी तथा पूर्वप्रहरीका लागि Health Camp/BMI Test, Best Police of the Month घोषणा, सडक प्रयोगकर्तालाई QR Code मार्फत सूचना सेवा, सामाजिक सञ्जालमार्फत नियमित सूचना तथा जनचेतनामूलक सामग्री प्रकाशन, अन्तरजिल्ला सुरक्षा समितिको बैठक तथा उत्कृष्ट प्रहरी कर्मचारी सम्मान कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ।

पत्रकार सम्मेलनमा डीएसपी बुद्धिसागर पुरीले जिल्ला प्रहरी कार्यालय जाजरकोटले आगामी दिनमा शान्ति सुरक्षा थप सुदृढ बनाउँदै अपराध नियन्त्रण, प्रविधिमैत्री प्रहरी सेवा विस्तार, नागरिकमैत्री सेवा प्रवाह र समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया