
जाजरकोट। छेडागाड नगरपालिका-१० लुम्तीखोला गारखनया घाटमा पुल निर्माणको पहल थालिएको छ। वर्षौंदेखि पुल अभावका कारण स्थानीयवासी, विद्यार्थी, ज्येष्ठ नागरिक तथा बिरामीले जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएको अवस्थामा अब पुल निर्माण हुने आशा जागेको छ।
सूर्यकिरण युवा विकास केन्द्रका अध्यक्ष तथा समाजसेवी राजिब शाहले लुम्तीखोला गारखनया घाटमा पुल निर्माणलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी निर्माण प्रक्रिया यथाशीघ्र अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले पुल नहुँदा विशेष गरी वर्षायाममा खोला तर्न स्थानीयले ठूलो जोखिम मोल्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस समस्याको दीर्घकालीन समाधानका लागि आफू निरन्तर पहल गर्ने बताए। पुल निर्माण सम्पन्न भएपछि छेडागाड नगरपालिका-१० का बासिन्दालाई सुरक्षित, सहज र नियमित आवतजावतमा ठूलो राहत पुग्ने उनको विश्वास छ।
अध्यक्ष शाहले विद्यार्थीको शिक्षामा पहुँच, बिरामीको समयमै उपचार, कृषि उपजको ढुवानी तथा स्थानीय जनजीवनलाई सहज बनाउन पनि उक्त पुल अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित सरकारी निकायलाई आवश्यक प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेका छन्।
स्थानीयवासीले पनि पुल निर्माणका लागि भएको पहलप्रति खुसी व्यक्त गर्दै वर्षौंदेखिको माग अब व्यवहारमै कार्यान्वयन हुने अपेक्षा गरेका छन्। उनीहरूले लुम्तीखोला गारखनया घाटमा पुल निर्माण भए दुई वडाबीचको आवागमन सुरक्षित र सहज हुने, साथै स्थानीयको सामाजिक तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
लामो समयदेखि पुल अभावका कारण ओझेलमा परेको यो समस्या समाधानतर्फ अघि बढ्न थालेसँगै स्थानीयमा नयाँ आशा पलाएको छ। अब सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य छिट्टै सुरु हुनेमा स्थानीयले अपेक्षा गरेका छन्।






द मालिका पोष्ट । २०८३ साउन २२ गते शुक्रवार