जाजरकोटमा बाढीपहिरोबाट चार जनाको मृ’त्यु, सयौँ परिवार प्रभावित

जाजरकोट । जाजरकोटमा साउन ३० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा डुबानका कारण ठूलो जनधनको क्षति भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढीपहिरोमा परी हालसम्म चार जनाको मृत्यु भएको छ।

भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका विभिन्न स्थानमा शनिबार दिउँसो आएको पहिरोमा परी चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्की, फारूला बस्ने ५४ वर्षीय उमासिंह खत्री, ७५ वर्षीया रती खत्री र चिसापानी बस्ने ७० वर्षीय भीमबहादुर कार्की रहेका छन्।

पहिरोमा परी उमासिंह, रती र भीमबहादुरको शव आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ। गम्भीर घाइते केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो।

घटनामा घाइते भएकामध्ये एक जनाको मेडिकल कलेज कोहलपुर र अर्का एक जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। अर्का एक घाइतेलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ भने चार जना उपचारपछि डिस्चार्ज भएका छन्।

बाढीपहिरोबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षाकर्मीको समन्वयमा सुरक्षित स्थानमा उद्धार गरी विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ। प्रभावित क्षेत्रमा अस्थायी स्वास्थ्य डेस्क स्थापना गर्नुका साथै खानेपानीको समेत प्रबन्ध गरिएको छ।

भेरी नगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार करिब २०० घरपरिवारका झण्डै ८०० जनाका लागि तत्काल खानाको व्यवस्था गरिएको छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC), जिल्ला विपद् व्यवस्थापन समिति, भेरी नगरपालिका, सेभ द चिल्ड्रेन तथा नेपाल रेडक्रसको समन्वयमा प्रभावितलाई आवश्यक सामग्री उपलब्ध गराइएको छ।

यसैगरी, संघीय गृह मन्त्रालय तथा कर्णाली प्रदेश सरकारको समन्वयमा सुर्खेतस्थित गोदामबाट थप राहत सामग्री जाजरकोट पठाउने तयारी भइरहेको छ। प्रभावित क्षेत्रमा प्रहरी तथा सुरक्षाकर्मीले खोजी, उद्धार र राहत कार्यलाई निरन्तरता दिएका छन्।

विपद्मा परेका नागरिकको उद्धार तथा राहतमा स्थानीय जनप्रतिनिधि, नागरिक, विभिन्न संघसंस्था र सुरक्षा निकायले समन्वय गर्दै आएका छन्। अब प्रभावितको यथार्थ विवरण संकलन, अस्थायी आवास निर्माण, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा जनजीवन सामान्य बनाउन थप समन्वय आवश्यक देखिएको छ।

यसैबीच, जिल्ला विपद् व्यवस्थापन समितिको बैठक भदौ १ गते बस्ने भएको छ। बैठकमा सरोकारवालाबीच आगामी राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्ययोजना तय गरिने जनाइएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया