जाजरकोट । गत साउन ३० गते अविरल वर्षा र भीषण पहिरोका कारण भेरी नगरपालिका- २ रिसाङलगायतका बस्तीमा ठूलो क्षति पुगेपछि बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताएका छन्।
नगर प्रमुख घर्तीले सोमबार आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको सन्देशमा भेरी नगरपालिकामा चार जनाको मृत्यु भएको, दुई जना गम्भीर घाइते भई उपचाररत रहेको तथा सयौँ नागरिक विस्थापित भएको जानकारी दिएका छन्। विशेषगरी वडा नम्बर १, २, ३ र ४ को जनजीवन विपद्का कारण नराम्ररी प्रभावित भएको उनले उल्लेख गरेका छन्।
उनका अनुसार खोज तथा उद्धारको काम करिब २४ घण्टाभित्र सम्पन्न गरिएको छ। उद्धार तथा राहत कार्यमा सहयोग गर्ने जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, राजनीतिक दल, कर्मचारी, पत्रकार, विभिन्न साझेदार तथा दातृ निकाय र युवाहरूप्रति उनले आभार व्यक्त गरेका छन्।
नगर प्रमुख घर्तीले अहिलेको अवस्था निकै गम्भीर रहेको भन्दै ठूलो क्षेत्रफल र जनसंख्या ओगटेको वडा नम्बर २ को रिसाङ बस्ती लगायत अन्य प्रभावित टोलबस्तीसमेत स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको बताएका छन्।
विपद्पछिको पुनर्स्थापना तथा अन्य आवश्यक कामहरू संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा युद्धस्तरमा अघि बढाइरहेको उनले बताएका छन्।
वर्षा अझै जारी रहेकाले मनसुनजन्य विपद्बाट सुरक्षित रहन र जोखिममा रहेका नागरिकलाई पनि सुरक्षित रहन प्रेरित गर्न नगर प्रमुख घर्तीले नगरवासीमा आग्रह गरेका छन्।








विनोद कुमार घर्ती (रिदम) । २०८३ भाद्र १ गते सोमवार