बारेकोटमा एमालेको पार्टी जागरण अभियान सुरु, ‘समृद्ध बारेकोट, बलियो संगठन’ मुख्य नारा

जाजरकोट । नेकपा एमाले बारेकोट गाउँ कमिटीले ‘समृद्ध बारेकोट, बलियो संगठन’ भन्ने नारासहित पार्टी जागरण अभियान सुरु गरेको छ। शुक्रबार आयोजित कार्यक्रममार्फत अभियानको सुरुवात गरिएको हो।

गाउँ कमिटी अध्यक्ष लक्ष्मणप्रसाद बोहराको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा जाजरकोट इन्चार्ज डम्बरबहादुर सिंह प्रमुख अतिथि थिए। कर्णाली प्रदेश कमिटी सदस्य तथा बारेकोट गाउँपालिका इन्चार्ज वीरबहादुर गिरी विशेष अतिथि थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज सिंहले एमालेले देशभर पार्टी सुदृढीकरण, जागरण अभियान, सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तारको अभियान सञ्चालन गरिरहेको बताए। सोही अभियानअन्तर्गत बारेकोटमा पनि कार्यक्रम सुरु गरिएको उनको भनाइ थियो।

उनले संगठनलाई थप बलियो बनाउँदै पार्टीका नीति, विचार र कार्यक्रम जनस्तरसम्म पुर्‍याउन अभियान केन्द्रित हुने बताए। जनताका समस्या र अपेक्षालाई पार्टी संगठनसँग जोडेर अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए।

विशेष अतिथि गिरीले बारेकोटमा एमालेको संगठनलाई वडा तथा टोलस्तरसम्म थप मजबुत बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। जनतासँगको सम्बन्ध बलियो बनाउँदै नयाँ पुस्तालाई समेत पार्टी संगठनमा जोड्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बारेकोट गाउँपालिकाभरिका क्रियाशील सदस्य तथा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो। सहभागीहरूले पार्टी संगठनलाई थप सुदृढ गर्दै आगामी स्थानीय निर्वाचनमा एमालेको प्रभाव र उपस्थितिलाई बलियो बनाउने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमको समापन गर्दै गाउँ कमिटी अध्यक्ष बोहराले आजकै दिनदेखि पार्टीको हित र संगठन निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। “बारेकोटलाई एमालेमय बनाउँदै आगामी स्थानीय निर्वाचनमा गाउँपालिकामा एमालेको बहुमत सुनिश्चित हुने गरी संगठन निर्माणमा लाग्नेछौँ,” उनले भने।

अभियानअन्तर्गत सदस्यता नवीकरण, नयाँ सदस्यता विस्तार, कार्यकर्ता परिचालन तथा पार्टीका नीति र कार्यक्रमबारे जनस्तरमा जानकारी गराउनेलगायतका गतिविधि सञ्चालन गरिने एमाले बारेकोट गाउँ कमिटीले जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया