
जाजरकोट । साउन ३० गते आएको बाढीपहिरोबाट प्रभावित भेरी नगरपालिका–२, रिसाङका २०० परिवारलाई करिब २३ लाख रुपैयाँ बराबरको गैरखाद्य राहत सामग्री वितरण गरिएको छ।
पाँचतारा युवा संरक्षक मञ्चले सेभ द चिल्ड्रेनसँगको साझेदारी तथा जिल्ला विपद् व्यवस्थापन समिति (DDMC) जाजरकोट र भेरी नगरपालिकाको समन्वयमा प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको हो।
पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तका अनुसार प्रभावित परिवारलाई प्रतिपरिवार २ थान त्रिपाल, २ थान समर ब्ल्याङ्केट, किचेन सेट, डिग्निटी किट, किशोरी किट, बेबी किट, बाल्टिन, जर्किनलगायतका सामग्री वितरण गरिएको छ।

“बाढीपहिरोबाट घर तथा दैनिक उपभोग्य सामग्री गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरेका हौँ,” अध्यक्ष पन्तले भने, “विपद्को समयमा प्रभावित परिवारलाई केही राहत र सुरक्षित बसोबासमा सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो।”
उनका अनुसार राहत सामग्री वितरण गर्दा वास्तविक प्रभावित तथा अति आवश्यक भएका परिवारलाई प्राथमिकतामा राखिएको छ। “स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर आवश्यकताका आधारमा सामग्री वितरण गरिएको हो,” पन्तले बताए।

राहत वितरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य खड्गबहादुर बुढा, भेरी नगरपालिकाका नगरप्रमुख सीपी घर्ती, उपप्रमुख सीता जैसी, प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, सेभ द चिल्ड्रेन सुर्खेतका प्रमुख रत्नराज ओझा, सुरक्षा निकायका प्रमुख, वडाध्यक्षलगायतको उपस्थिति थियो।
बाढीपहिरोका कारण घर तथा दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेका परिवारलाई तत्काल आवश्यक पर्ने गैरखाद्य सामग्री उपलब्ध गराउन सहयोग गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष पन्तले जानकारी दिए।







विनोद कुमार घर्ती (रिदम) । २०८३ भाद्र ६ गते शनिवार