“भूकम्प पीडितको स्थायी आवास निर्माणमा ढिलाईः पत्रकार महासंघले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझायो”


जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोटले कणर्ाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेललाई भूकम्प पीडितका लागी स्थायी आवास निर्माणमा ढिलाई भएको भन्दै ज्ञापनपत्र बुझाएको छ । सोमबार खलंगामा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष बालकुमार शर्माले मुख्यमन्त्री कडेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, गत वर्ष कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले जाजरकोटमा हजारौं घरहरु भत्काएको, चर्किएको र बस्न अयोग्य बनाएको थियो । भूकम्प प्रभावित नागरिक अहिले पनि अस्थायी टहरामा बस्न बाध्य छन्, जसले उनीहरूको दैनिकी असुरक्षित र कष्टकर बनाइरहेको छ ।


नेपाल सरकारले पुर्ननिर्माणका लागि उच्च प्राथमिकता दियर बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए पनि, अहिलेसम्म स्थायी आवास निर्माणमा कुनै प्रगति हुन सकेको छैन । ज्ञापनपत्रमा २०८० सालको हिउँद र २०८१ सालको वर्षातमा स्थायी आवास निर्माण प्रक्रिया अघि नबढेकोले पुनः आगामी हिउँदको सामना गर्न भूकम्प पीडितहरु असहज परिस्थितिमा पर्ने आशंका व्यक्त गरिएको छ ।
महासंघले कणर्ाली प्रदेश सरकार र स्थानीय तहलाई स्थायी आवास निर्माणको प्रक्रिया चाँडो अघि बढाउन आवश्यक पहल गर्न आग्रह गर्दै, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीको ध्यानाकर्षण गराएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया