
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय धमाधम खेल पूर्वाधार निर्माण भइरहेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कर्णालीमा खेलपुर्वाधार धमाधम निर्माण भइरहेका हुन् । कर्णालीका डोल्पा र सल्यानबाहेक अन्य आठवटै जिल्लामा विभिन्न खेल पूर्वाधार निर्माण भइरहेको खेलकुद विकास परिषदले जनाएको छ । ठेक्का सम्झौताअनुसार तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी धमाधम खेल पूर्वाधार निर्माण भइरहेका छन् ।
कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करणको तयारीस्वरूप आवश्यक खेल पूर्वाधार निर्माण भइरहेका हुन् । कर्णालीमा आगामी आर्थिक वर्ष २०८१ को मंसिर २ गतेदेखि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुँदैछ । गत वर्ष २०७९ कात्तिक २ गते पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को बोर्ड बैठकले दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने निर्णय गरेको थियो ।
बैठकले २०८१ मंसिर २ देखि ९ सम्ममा कर्णालीमा हुने निर्णय गरेको थियो । निर्णय गरेसँगै दशौं राष्ट्रिय खेलकुद कर्णालीमा नहुने धेरैले आंकलन गर्दै आइरहेका छन् । अहिलेसम्म केन्द्र सरकारले कुनै समन्वय, सहकार्य र बजेट नदिँदा आवश्यक भौतिक पूर्वाधार लगायत व्यवस्थापनको विषयमा प्रदेश सरकार एक्लैले सक्ला त भन्ने प्रश्न उठ्ने गरेको छ ।
प्रतियोगितालाई लक्षित गरी हाल जिल्ला–जिल्लामा खेल पूर्वाधार निर्माण कार्य जारी छ । कर्णाली प्रदेशको गौरवको आयोजना वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला निर्माणको काम तिव्र गतिमा भइरहेको खेलकुद परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले बताए । उनकाअनुसार २०७८ कात्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता भएको थियो ।
आगामी आर्थिक वर्ष २०८१ असार ११ गते सम्झौता मिति सकिँदैछ । तर, निर्माणको काम तोकिएको मितिभन्दा एक÷दुई महिना ढिला हुने देखिन्छ । एमएसी जिएसएल जेभी काठमाडौंले रंगशाला निर्माणको ठेक्का लिएको छ । रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ को चैतसम्म ३० करोड बढी बजेट कार्यान्वयन भएको छ । निर्माणाधीन प्रदेश रंगशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी उनको भनाइ छ ।
प्रदेश रंगशालामै हृयाण्डबल र बास्केट बललगायत खेलका आउटडोर पनि बनाइँदैछ । हाल विभिन्न पूर्वाधार निर्माणका काम भइरहेको बताउँदै अपांगता भएका व्यक्तिका लागि पारा खेल पूर्वाधारसमेत निर्माण गर्ने तयारी रहेको परिषद्ले जनाएको छ । इतिहासमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता कर्णालीमा सञ्चालन हुन लागेको छ । तर, कर्णालीलाई अनुुभवको अभाव छ । भौगोलिक विकटताले गर्दा पनि सबै जिल्लामा खेल सञ्चालन गर्न सहज छैन ।
पूर्वाधार निर्माणका लागि योजनागतरूपमा काम अघि बढाइए पनि निर्माण समयमै सम्पन्न गर्नुपर्ने चुनौतीहरू छन् । तर, परिषद्का सदस्य–सचिव सञ्ज्याल खेल पूर्वाधारको अभावका कारणले खेलकुद प्रतियोगिता नरोकिने बताउछन् । ‘खेलपुर्वाधार अभावले नै दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुन्न भन्ने छैन्, उनले द मालिका पोष्टसँग भने, ‘काम तिव्र गतिमा भएको छ जसरी पनि दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुन्छ ।’
तर कतिपयले भने ठुलो प्रतियोगिता प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन एउटा रंगशालाले मात्रै धान्ने अवस्था नरहेको बताउँदै आएका छन् । त्यसका लागि संघीय सरकारले अन्य जिल्लाहरूमा खेल पूर्वाधार निर्माणका लागि चासो नदिएको बुझिएको छ । दशौं राष्ट्रिय खेलकुदलाई सफल पार्न भने कर्णालीमाथि चुनौतीका चाङ छन् ।
केन्द्र सरकार तथा आयोजक संस्था राष्ट्रिय खेलकुद परिषद्को बेवास्ताका कारण राष्ट्रिय खेलकुद आयोजनाबारे विगतदेखि नै विभिन्न प्रश्न उठिरहेका छन् । कर्णालीका मन्त्रीहरुले समेत विभिन्न कार्यक्रममा दशौं राष्ट्रिय खेलकुद कर्णालीलाई अवसरसँगै चुनौती पनि भएको बताउँदै आएका छन् । केही समय अगाडि मात्रै कर्णाली प्रदेश निर्वतमान सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद चुनौतीसँगै अवसरको विषय भएको बताएका थिए ।
उनले अहिले निर्माणाधीन वीरेन्द्रनगर रंगशालामा मात्रै सबै खेलहरु खेलाउन सम्भव नरहेको बताएका थिए । उनले त्यसका लागि अन्य जिल्लाहरुमा पनि आवश्यक संरचनाहरु बनाउन आवश्यक रहेको बताएका थिए । पुर्वाधारहरु धमाधम निर्माण भइरहेको भनिएपनि कतिपय ठाउँमा पुर्वाधार निर्माण अलपत्र अवस्थामा छन् । तर, खेलकुद परिषद्ले भने खेल पुर्वधार निर्माणका लागि निरन्तर चासो देखाइरहेको छ ।
यसले पनि पुर्वाधारहरु समयमै सम्पन्न हुने अवस्था भने देखिन्छ । खेलकुद विकास परिषद्का अनुसार सुर्खेतसहित कर्णालीका अन्य जिल्लामा धमाधम खेल पूर्वाधार बनिरहेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वैकल्पिक खेल मैदानको प्रयोग गर्ने गरी जिल्ला–जिल्लामा खेल पूर्वाधार निर्माण थालिएको हो । ती मैदानहरूलाई विकल्पका रूपमा राखिनेछ । वैकल्पिक मैदानहरूमा खेल तालिकाअनुुसार प्रयोगात्मक खेलहरू हुनेछन् ।
जसअन्तर्गत कालीकोट र जाजरकोटमा कभर्डहल निर्माणको बहुवर्षीय खरिद स्वीकृत प्रक्रिया अघि बढेको छ । मुगु जिल्लामा कबड्डी मैदान निर्माणको प्रक्रिया अघि बढाइएको छ । दैलेखमा कभर्डहल मर्मतको काम भइरहेको छ । उपभोक्ता समितिमार्फत् मर्मतको काम गरिएको हो । खेलकुद विकास समितिका संयोजक भेषराज भण्डारीका अनुसार २०८० माघ ९ गते ठेक्का सम्झौता भई काम अघि बढेको छ ।
१३ लाख ८२ हजारमा २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यस्तै, हुम्लामा हकी खेलमैदान निर्माणको काम सुरु भएको छ । समुन्द्र निर्माण सेवा जुम्लासँग ठेक्का सम्झौता गरी काम अघि बढाएको खेलकुद विकास समिति हुम्लाका अध्यक्ष विनोद बोहोराले बताए । उनकाअनुसार २०८० फागुन ६ गते खेलमैदान निर्माणको ठेक्का सम्झौता गरिएको हो ।
२०८१ असार २० गते निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । एक करोड ५० लाखमा हकी खेलमैदान निर्माण हुनेछ । अहिले मैदान सम्याउने काम भइरहेको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भइरहेका छन् । भलिबल खेलमैदान तथा प्याराफिट निर्माणको काम थालिएको छ । हिरा नेपाल निर्माण सेवा जुम्लासँग ठेक्का सम्झौता गरी काम अघि बढाइएको खेलकुद विकास समिति जुम्लाले जनाएको छ ।
२०८० पुस ५ गते मैदान निर्माणका लागि ठेक्का सम्झौता गरिएको समितिका अध्यक्ष धनकृष्ण पाण्डेले जानकारी दिए । रूकुम पश्चिममा पनि कभर्डहल मर्मतको काम थालिएको छ । प्रतियोगिता लक्षित पूर्वाधार निर्माणका काम भइरहेको जिल्ला खेलकुद विकास समिति रूकुम पश्चिमले जनाएको छ । २०८० माघमा ठेक्का सम्झौता गरी मर्मतको काम सुरु गरिएको समितिका अध्यक्ष शैलेश शर्माले बताए ।
उनकाअनुसार मुसिकोट कभर्डहल मर्मतको काम उपभोक्ता समितिमार्फत् भइरहेको छ । १५ लाखमा कभर्डहल मर्मतको काम गरिनेछ । यस्तै वीरेन्द्रनगरमा देउडा पार्कसहितको अर्को क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको छ । चार करोड ५९ लाख लागत रहेको रंगशालामा संरचना निर्माणको ठेक्का जिम्मेवारी अभियान कन्स्ट्रक्सन काठमाडौंले लिएको छ । २०८० चैत ५ गते ठेक्का सम्झौता भएको यो रंगशाला २०८१ असार २५ गतेसम्म निर्माण गरिसक्नुपर्नेछ ।






कुलेन्द्र शाही । २०८१ बैशाख ४ गते मङ्गलवार