
जाजरकोट । भेरी नगरपालिका–४ स्थित ऐतिहासिक रामजानकी मन्दिरमा जारी श्रीमद्भागवत सप्ताह महायज्ञमा समाजसेवी तथा पूर्व वडाध्यक्ष खम्ब जङ्ग शाहले एक लाख एक हजार एक सय एघार (रू. १,०१,१११) दान गर्नुभएको छ।
धार्मिक तथा सामाजिक सेवामा निरन्तर समर्पित शाहले महायज्ञको सफल आयोजनाका लागि आफ्नो महत्वपूर्ण योगदान दिनुभएको हो। उहाँले यसअघि पनि धार्मिक तथा परोपकारी कार्यहरूमा उल्लेखनीय सहयोग गर्दै आउनुभएको छ। २०६३ सालमा नेपाल टेलिकमबाट अवकाश प्राप्त कर्मचारीसमेत रहनुभएका शाह २०७४ सालको स्थानीय तह निर्वाचनमा भेरी नगरपालिका ४ को वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो।
सहृदय र समाजसेवी व्यक्तित्वका रूपमा परिचित शाहले शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा सांस्कृतिक जगेर्ना लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ। उहाँको उदार सहयोगले धार्मिक तथा सामाजिक कार्यहरूलाई थप प्रवद्र्धन गर्ने विश्वास मन्दिर व्यवस्थापन समितिले व्यक्त गरेको छ।
श्रीमद्भागवत सप्ताह महायज्ञका क्रममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको छ भने प्रवचन, भजनकीर्तन तथा धार्मिक अनुष्ठानहरू निरन्तर सञ्चालन भइरहेका छन्। आयोजकहरूका अनुसार भक्तजनहरूको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ, जसले समाजमा धार्मिक आस्था र एकताको भावना थप मजबुत बनाइरहेको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र २० गते बुधवार